बर्दिवास- मध्य र पश्चिमी क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा महोत्तरीमा भने २४ दिनपछि एकाबिहानै झलमल्ल घाम लागेको छ।
पुस १७ गतेदेखि लगातार बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बढेको थियो। एकाबिहानै पारिलो घाम देखिएपछि न्यानो बढ्ने आश जागेको बर्दिवास–९ पशुपतिनगरका ७५ वर्षीय नथुनी महतोले बताए।
'अब चैं हुस्सु र स्याँठ बिदा भएकै हो,' महतोले भने, 'वसन्तपञ्चमी उत्सव भनेकै जाडो बिदा भएर पारिलो घाम लाग्दै जाने हो, अब बिहानैदेखि झलमल्ल घाम देखिनेछ।'
आज एकाबिहानै झलमल्ल पारिलो घाम लागेपछि वृद्धवृद्धा घाम ताप्न घरबाहिर निस्केका छन् । 'कि कहैछि बौवा, करिब एक महिना से झोपडीभितर जकडल छली' (के भन्नुहुन्छ बाबु, करिब एक महिनादेखि झुप्रोभित्रै जकडिएर बसेकी थिएँ),' आँगनमा घाम तापिरहेकी भङ्गाहा नगरपालिका–४ रामनगर बस्तीकी ८० वर्षीया मोहवती खातुनले भनिन्, 'आब जियके आस जागल, आई नहैबे करब (अब बल्ल बाँच्ने आश जाग्यो, आज चैँ नुहाउँछु)।'
लामो समयपछि झलमल्ल घाम देखिएलगत्तै नदी, धारा, कुवा र इनार वरिपरि लुगा धुने र नुहाउनेको भिड देखिएको छ।
जिल्लाको उत्तरी क्षेत्रमा हुस्सु फाटेर झलमल्ल घाम देखिए पनि मध्य र दक्षिणी क्षेत्रमा भने अझै अँध्यारो राम्ररी हटेको छैन। 'आकाश त उघ्रँदैछ,' जिल्लाको सुदुर दक्षिण–पूर्वी क्षेत्रको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले टेलिफोनमा भने, 'स्याँठ चल्न रोकिएर घामको किरण देखिएकाले अब अँध्यारो फाट्दै जाने आश जागेको छ।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।