त्रिपोली- संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षहरुलाई आग्रह गरेको छ। लिबियामा हाल राष्ट्र संघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ।
युनिसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिणी क्षेत्रमा रहेको मुर्जुक सहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिहरुमा महिला र बालबालिका परेकामा खेद व्यक्त गरिएको छ।
वक्तव्यमा 'महिला र बालबालिका समेतका निहत्था जनतामाथि कुनै पनि किसिमबाट आक्रमण नगर्न युनिसेफ युद्धरत दुबै पक्षसँग आग्रह गर्दछ' भनिएको छ।
गत आइतबार मुर्जुकमा भएको हवाई आक्रमणमा ४० जनाभन्दा बढी सर्वसाधारणको ज्यान जानुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए। लिबिया सरकारले उक्त आक्रमणको निन्दा र भर्त्सना गरेको छ। सरकारले राष्ट्र संघलाई उक्त आक्रमणको स्वतन्त्र छानबिन गरी अपराधीहरुमाथि गम्भीर मानव अधिकार उल्लंघनको आरोपमा मुद्दा चलाउन आग्रह गरेको छ।
लिबियाली सेनाले भने सहरमा अखडा जमाएर बसेका चाडका लडाकुलाई केन्द्रित गरेर हवाई आक्रमण गरेको जनाएको छ। सेनाले मुर्जुक सहरलाई गत फेब्रुअरीदेखि नियन्त्रणमा लिइराखेको छ।
गत अप्रिलदेखि लिबियाको त्रिपोलीलाई केन्द्र बनाएर भिषण युद्ध जारी छ। यसक्रममा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने ५ हजार ७ सय घाइते भएका छन्। युद्धबाट ज्यान जोगाउन करिब एक लाख २० हजार मानिस आफ्नो घर छाडेर अन्यत्र विस्थापित भएका छन्।
लिबियाली संकटमा विश्व जनमत नै पूर्वी र पश्चिमी सरकारको समर्थनमा विभाजित छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।