एजेन्सी- जम्मू-कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव बढेको छ।
पाकिस्तानले भारतीय उच्चायुक्तलाई देश निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने निर्णय गरेपछि दुई देशबीचको तनाव झन गहिरिएको हो। बुधबार प्रधानमन्त्री खानसहित बसेको सुरक्षा समितिको बैठकले भारतसँग रहिआएको द्विपक्षीय सम्बन्धलाई घटुवा गर्ने, व्यापार स्थगन गर्ने, भारतको निर्णयलाई संयुक्त राष्ट्र संघ र सुरक्षा परिषद्मा उठाउने लगायतका निर्णय गरेको थियो।
यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताएका थिए।
उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा समेत प्रतिवाद गर्नेसमेत उल्लेख गरेका थिए।
खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको बताएका छन्।
भारतले विशेष हैसियत रद्द गरेसँगै उक्त क्षेत्र पूर्ण बन्दको अवस्थामा छ। हिमाली क्षेत्र कश्मीरमा भारत र पाकिस्तान दुवैको दाबी रहे पनि ती दुई देशले केही भागमा मात्र शासन गर्दै आएका छन्।
भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेको छ जसका कारण तीन दशकमा हजारौँले ज्यान गुमाइसकेका छन्।
भारतले त्यस्ता आन्दोलनकारीहरूलाई पाकिस्तानले सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ।
पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आत्मनिर्णय चाहने कश्मीरीहरूलाई नैतिक र कूटनीतिक सहयोग मात्रै दिएको बताएको छ।
भारत सरकारले सोमवार जम्मू-कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि दुई देशबीचको तनाव झन गहिरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।