चितवन - चितवन र पर्सा कम्प्लेक्समा दुर्लभ पाटेबाघको उपस्थिति राम्रो पाइएको छ ।
विगत दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ शुरु भएको दुर्लभ पाटेबाघको गणना तथा अनुगमन अन्तर्गत यहाँ भने बाघको उपस्थिति राम्रो पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले जानकारी दिए।
'फिल्डमा खटिएका साथीहरुबाट सकारात्मक रिपोर्टिङ छ', भट्टराईले भने,'बाघको संख्या बढेको अनुमान गर्न सकिन्छ ।' उहाँका अनुसार चितवन–पर्सा कम्प्लेक्समा बाघको अनुगमन अन्तिमतिर पुगेको छ । बर्दियामा तेस्रो चरणको अनुगमन शुरु हुन लागेको र अब छिट्टै शुक्लाफाँटामा क्यामेरा जडान हुनेछ ।
गणनाकै बेला सरकारी वन क्षेत्रमा समेत क्यामरा ट्र्यापिङ विधिको प्रयोग गरिएको यहाँ पहिलो पटक हो । पहिले पाइला हेरेर सरकारी वनमा बाघको अनुगमन गरिएको भएपनि अहिले क्यामेरा नै राखेर गणना भइरहेकाले बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल बताउँछन्।
उनका अनुसार पहिले बाघ फेला परेका ठाउँमा अहिले पनि क्यामरामा कैद भइरहेको छ । चोरी–शिकार नभएको र बासस्थानसमेत राम्रो देखिएको तथा सामुदायिक वन क्षेत्रमा समेत अनुगमन भइरहेकाले बाघ बढ्ने उनले आशा व्यक्त गरे। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधि सहितको क्यामरा ट्र्यापिङ विधिबाट बाघको गणना भइरहेको छ । मंसिर १४ गतेदेखि बाघ गणना थालिएको थियो ।
कार्यक्रम संयोजक भट्टराईले देशभरको गणनामा करिब १ सय ५० क्यामेरा, आवश्यकताअनुसार हात्ती र करिब २ सय जनशक्ति खटाइएको जानकरी दिए। बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना भइरहेको हो। पाटे बाघ र यसको आहारा, प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षण योजना निर्माणका लागि बाघ गणना गरिएको हो ।
यसअघि सन् २०१३ मा गणना भएको थियो । सन् २०१३ को बाघ गणनामा नेपालमा १ सय ९८ बाघ रहेको पाइएको थियो जसमा १ सय २० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ । यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लापाँटामा १७, पर्सामा ७ र बाँकेमा चारवटा पाटे बाघ भेटिएको थियो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।