खेलमैदान विवादमा तात्तियो रोल्पा कांग्रेसको छायाँ सरकार 

महेश न्यौपाने | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 १६:५१:०० मा प्रकाशित

रोल्पा- खेल मैदानको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता आरोप-प्रत्यारोपमा समेत उत्रिएका छन्। प्रदेश सरकारको ३० लाखको लागतमा बन्न लागेको खेल मैदान प्रक्रिया पूरा नगरी निर्माण गर्न लागिएको भन्दै नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका संयोजक जनक पुनले इलाका वन कार्यालय होलेरीमा उजुरी गरेपछि विवाद बढेको हो। 

नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका छायाँ सरकार प्रमुख टेकबहादुर बस्नेत र पार्टी संयोजक जनक पुनले संयक्त प्रेस विज्ञप्ति जारी गरी गाउँपालिकाले निर्माण गर्न थालेको खेलमैदान विषयमा चासो व्यक्त गरेका छन्। साउन ११ गते  जारी विज्ञप्तिमा अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरिसक्नुपर्ने योजना साउन ४ गते मात्र निर्माण आरम्भ गरिएको उल्लेख गरिएको छ। सीमित व्यक्तिहरुलाई राखेर उपभोक्ता समिति गठन गरिएको, गाउँपालिकामा क्रियाशील राजनीतिक दलसँग छलफल परामर्श नगरिएको आरोप लगाइएको छ। विज्ञप्तिमा आफूहरु विकासविरोधी नभई विधि प्रक्रिया मिचेर गरिने विकासलाई समर्थन गर्न नसकिएको औंल्याइएको छ। 

उजुरीपछि भने उक्त खेलमैदान निर्माण कार्य रोकिएको छ। पुनले गत साउन ६ गते उजुरी दर्ता गराएका थिए। 

खेल मैदान निर्माण गरिने ठाउँ सामुदायिक वनको क्षेत्र पर्ने भएकाले ठूलो मात्रामा वन विनाशको सम्भावना रहनुका साथै पर्यावरणीय रुपमा समेत प्रभाव पर्ने भएकाले तत्काल निर्माण कार्य रोक्न निवेदकले माग गरेको बताइएको छ। विकास निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्यांकन समेत गर्नुपर्ने भए पनि गाउँपालिकाले सो नगरी निर्माण कार्य अगाडि बढाएको निवदेक पुनले उजुरीमा उल्लेख गरेका छन्। यसअघि गाउँपालिकाको २ स्थानमा खेलमैदान निर्माणको नाममा बजेट खर्च भईसकेकोले पुनः अर्को खेल मैदान बनाउनुको साटो पहिले बनेकालाई निरन्तरता दिनुपर्ने आफूहरुले सुझाव दिएको संयोजक पुनले बताए। 

यता नेपाल नेकपा रुन्टीगढी गाउँपालिकाले साउन १९ गते प्रेस विज्ञप्ति जारी गरेको छ। पार्टीको गाउँपालिका अध्यक्ष आशाराम गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकार असफल पार्न नेपाली कांग्रेस सुरुवातदेखि नै प्रयासरत रहेको आरोप लगाइएको छ। पारदर्शी ढंगबाट निर्माण कार्य गर्न थालेपछि अत्तालिएको नेपाली कांग्रेसले खेलमैदान निर्माण कार्यमा गरेको अवरोधले प्रदेश सरकारको ससर्त अनुदानबाट प्राप्त बजेट फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको बताएको छ। सार्वजनिक सूचनामार्फत प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको काम थालिनुका साथै सरोकारवालाको सहभागितामा छलफल गरी निर्माण कार्य आरम्भ गरिएको विज्ञप्तिमा दाबी गरिएको छ। 

सबै कानुनी प्रक्रिया पूरा गरी निर्माण कार्य आरम्भ गरिएको गाउँपालिका अध्यक्ष बालाराम बुढाको भनाइ छ। 'कानुन मिचेर गाउँपालिकाले काम गर्ने कुरा हुँदैन,' अध्यक्ष बुढाले भने, 'विकास सबैको साझा विषय भएकाले कुनै पनि बहानामा रोक्न हुँदैन।'

रुन्टीगढी गाउँपालिका पूर्व नेकपा एमालले जितेको गाउँपालिका हो।