काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई नियन्त्रणमा लिएको छ।
कतार-दुबईका लागि भिजिट भिसाका लागि बिचौलियासँग प्रस्थान अनुमति दिन मिलेमतो गरेको पाइएपछि अख्तियारले नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न लागेको हो।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले वैदेशिक रोजगारीमा जाने सिलसिलामा श्रम स्विकृति नलिई कतार, दुबई ट्रान्जिट भई विभिन्न मुलुकमा जाने व्यक्तिलाई बिचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिएको र त्यसको ई अभिलेख समेत नराखेको पाइएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए।
उनले बिचौलियासँग मिलेर ‘डिपार्चर स्टाम्प’ लगाई अभिलेख समेत गायब पारेको उजुरीमा छानबिन गर्नका लागि मंगलबार पराजुलीलाई नियन्त्रणमा लिइएको बताए।
उनीमाथि अध्ययन गर्दै विशेष अदालतमा मुद्दा दायर हुने अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।