काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानी मन्त्री बिना मगर र सचिवका कारण राजधानीवासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी गरे।
उनले भने, 'काठमाडौं जस्तो ठाउँमा हामीले खानेपानी दिन सकेका छैनौं। मन्त्रीज्यू यहाँ हुनुहुन्छ। म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि तपाईंका कारणले मेलम्चीको खानेपानी राजधानीलाई उपलब्ध हुन सकेको छैन। मुखमा आएको गाँस सचिव र तपाईंका कारणले राजधानीवासीलाई पानी उपलब्ध हुन सकेको छैन। मन्त्रीज्यू, यसलाई तपाईं क्लियर गर्नुहोला। राजधानीवासी काकाकुल छन्।'
एक गाग्री पानीका लागि अहिले पनि र्कीतिपुर नगरबासीहरु बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए। उनले पानीको मुहान संरक्षण र स्रोत विस्तारका सवालमा विस्तृत अध्ययन गर्नु जरुरी रहेको सुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।