काठमाडौं- जडिबुटी क्वारेन्टाइनसम्बन्धी व्यवस्थाका कारणले जडिबुटी निकासीमा अवरोध उत्पन्न भएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
संकलित जडिबुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं नेपालीको रोजगारीलाई प्रभाव परेको कांग्रेस सांसदहरुले प्रस्तावमा उल्लेख गरेका छन्। रंगमति शाही प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई बालकृष्ण खाँड, डिला संग्रौला पन्त र प्रकाश रसाइली स्नेहीले समर्थन गरेका छन्।
नेपालमा उत्पादित र संकलित जडिबुटीको प्रशोधनको व्यवस्था हुन नसकेको कारणले देशबाहिर निकासी भइरहेको जनाइएको छ। क्वारेन्टाइनको समस्याका कारणले जडिबुटी निकासीमा आएको अवरोधलाई अन्त्य गर्न छलफलको माग गरिएको छ। जडिबुटी निकासीलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको कांग्रेसले जनाएको छ।
हिमाली भेगमा ठूलो संख्याले जडिबुटी संकलन, उत्पादन, भण्डारण, बिक्रीवितरण कार्यमा प्रत्यक्ष रोजगारी पाएको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।