काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ। बुधबारका लागि डाकिएको बैठक साउन २६ लाई सारिएको छ।
अन्तरिम संरचना गठनका विषयमा संस्थापन र इतर समूहबीच विवाद भएपछि मध्यमार्गी बाटो तय गरिएको थियो। विधानको धारा ७४ अनुरुप संक्रमणकालीन संरचना गठन गरिने प्रावधानलाई लागू नगरी कार्यसमिति गठन गर्न लागिएको छ।
सहमतिबाट तल्लो तहका कार्यसमिति गठन गर्दै विधानलाई कुल्चन लागिएको हो। संघीयताअघि निर्माण भएका कार्यसमितिलाई नै जिम्मेवारी दिने गरी नयाँ निर्देशिका बन्ने क्रममा छ।
महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र डा मिनेन्द्र रिजालले नयाँ निर्देशिका तयार गरिरहेका छन्। नेता त्रयले बनाइरहेको निर्देशिकालाई अन्तिम रुप दिनको लागि समय लागेकाले केन्द्रीय समितिको बैठक सारिएको छ।
नेताहरु बीच छलफल हुन नसकेका कारण निर्देशिका तयार हुन नसकेको नेता महतले बताए। उनले भने, ‘नेताहरु काठमाडौं नभएर छलफल हुन सकेको छैन।’
निर्माणाधीन निर्देशिकाले प्रदेश संरचना भन्दा तल्लो तहमा कार्यसमिति गठनको ढाँचा तयार गरिरहेको छ। संघीयताअनुरुप विभाजित भएका स्थानीय तहमा जनसंख्या र भूगोलको आधारमा नेतृत्व चयन गर्ने विधि अबलम्बन गरिएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।