पथरी (मोरङ)- दृष्टिविहीनले के काम गर्न सक्छन् भनेर कसैले सोध्यो भने तपाईंको जवाफ हुन सक्ला- केही गर्न सक्दैनन्। खान्छन्। घरमै बस्छन्।
तर मोरङका एक दर्जन दृष्टिविहीनको हकमा भने यो जवाफ गलत हुन्छ। उज्यालो हुन नपाउँदै मोरङ लालभित्तीका ३२ वर्षीय दृष्टिविहीन गोविन्द राई भारतको जोगवनी हानिन्छन्, सामान खरिदका लागि।
त्यहाँ ५० हजारदेखि ६० हजारको सामान किनेर उनी आफै भारी बोकेर नेपाल फर्किन्छन् र यहाँका बजारमा बिक्री गर्छन्।
उनका अनुसार एक पटक सामान ल्याएर बेच्दा रु दुई हजार कमाइ हुन्छ। त्यही श्रमको फलले उनी वृद्ध बाआमाको हेरचाह, छोराछोरी पठनपाठन र भरणपोषण गर्दै आएका छन्।
उनको यही आँटले भन्छ- संसार देख्न नसक्नेहरु साङ्गभन्दा सक्षम छन्।
मोरङ तेतरीयाका सरोज चौधरी, बेलबारीका अनिल चौधरी, रोशन ताजपुरिया, पथरीका अभिलेश कर्ण तथा सन्देश शर्मा पनि राई जस्तै दृष्टिविहीन हुन्। उनीहरु समेत भारतको जोगवनीबाट किराना सामान ल्याएर पसल पसलमा बिक्री गर्दै आफ्नो परिवार चलाइरहेका छन्।
भारी बोकेर रानी- विराटनगर सडकखण्डमा भेटिएका सरोज चौधरी भन्छन्, 'हामीजस्ता संसार नदेख्ने मागेर खान्छन्, हामीलाई माग्न लाज लाग्छ, त्यसैले भारी बोकेर भए पनि परिवार पालिरहेका छौँ।'
गोविन्द राईले भने मेहनत गरेर दुवै छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन्। उनी आफै बिए उत्तीर्ण हुन्। सानो काम भनेर अल्छी मान्नेहरुका लागि यी दृष्टिविहीनहरुको कर्म प्रेरणाको स्रोत बन्न सक्छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।