काठमाडौं – विश्वकप फुटबलको एसिया क्षेत्रीय छनोट अन्तर्गत दोस्रो चरणमा कुवेतकै मैदानमा ‘होम एण्ड अवे’ दुवै खेल खेल्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको प्रस्ताव अस्वीकार भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दुवै खेल कुवेतमा हुन नसक्ने पत्र एन्फामा पठाएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् । अब कुवेतबाहेक कुनै अर्को ‘न्युट्रल’ मैदानमा नेपालले ‘होम गेम’ खेल्नेछ । तर कहाँ खेल्ने भन्ने तय भइसकेको छैन ।
‘हामी छलफलमा छौँ, मैदान कहाँ हुने भन्ने आजभोलिमा टुंगो लाग्छ’ प्रवक्ता राईले भने ।
नेपालले पहिलो खेल भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भए पनि दशरथ रङ्गशालाको पुनःनिर्माण काम नसकिएकाले कुवेतमा गएर पहिलो खेल खेल्न फिफासँग आग्रह गरेको थियो ।
छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि हुनेछ ।
मंगलबार मुख्य प्रशिक्षक योहान कालिनले अभ्यासमा रहेका ३६ खेलाडीबाट प्रारम्भिक टोलीमा ३१ खेलाडी छानेका छन् । खेलाडीहरु एन्फा कम्प्लेक्स मैदानमा नियमित अभ्यासमा छन् ।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।