काठमाडौं- भारतले वेस्टइन्डिजविरुद्धको ३ खेलको टी-२० क्रिकेट शृंखला 'क्लिनस्विप' गरेको छ। शृंखलाअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा भारतले वेस्टइन्डिजमाथि ७ विकेटको जित हात पार्दै शृंखलामाथि कब्जा जमाएको हो।
यसअघि पहिलो खेलमा ४ विकेटको जित निकालेको भारतले दोस्रो खेलमा डिएल मेथडको सहयोगमा २२ रनले विजयी भएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४६ रनको योगफल तयार गरेको थियो। उसका लागि किरोन पोलार्डले ५८ रनको पारी खेले। ४५ बलको सामना गरेका उनले १ चौका र ६ छक्का प्रहार गरे। रोभमन पोवेलले अविजित ३२ रनको योगदान दिए।
भारतका लागि दीपक चाहरले ३, नभदीप सैनीले २ तथा राहुल चाहरले १ विकेट लिए।
वेस्टइन्डिजले दिएको १ सय ४७ रनको लक्ष्य भारतले ५ बल अगाबै ३ विकेटको क्षतिमा पूरा गर्यो। भारतलाई जित दिलाउन रिसभ पन्त र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले। रिसभले ४२ बलमा अविजित ६५ रन बनाउँदा कोहोलीले ५९ रन बटुले।
वेस्टइन्डिजका ओसान थोमसले २ तथा फेवियन एलेनले १ विकेट लिए।
खेलको प्लेअर अफ द म्याच दीपक चाहर घोषित हुँदा क्रुनाल पाण्डे प्लेयर अफ द सिरिज चुनिए।
भारतले अब वेस्टइन्डिजसँग ३ एकदिवसीय र २ टेस्ट म्याच खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।