जनकपुर- प्रदेश २ सरकारले एकैचोटी ३२ विधेयक प्रदेशसभामा लैजाने भएको छ। ३२ वटा विधेयकमध्ये १० वटा विधेयक प्रदेश मन्त्रिपरिषद्को विधायन समितिमा रहेको र २२ वटा विधेयकको सैद्धान्तिक सहमतिका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सम्बन्धित मन्त्रालयमा पठाइ सकिएको छ।
मन्त्रालयमा आएका २२ विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन्। प्रदेश २ मा अहिलेसम्म २० वटा कानुन प्रदेसभाबाट पास भइसकेका छन्।
यसअघि नै प्रदेश २ मा दर्ता भएका २१ वटा विधेयक थन्किएका छन्। विगत लामो समयदेखि प्रदेश २ को प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको कानुन निर्माण प्रक्रिया समेत सुस्त भएको छ।
सभामुख सरोजकुमार यादवले सरकार बाढीपीडितको उद्धार तथा राहतमा लागेकाले बैठक बस्न ढिलाइ भएको बताए। उनले बाढी पहिरोको प्रभाव सबैभन्दा बढी प्रदेश २ मा परेको बताउँदै यस्तो अवस्थामा पहिले जनतालाई उद्धार र राहत वितरण गर्नु सरकारको दायित्व रहेको बताउँदै आगामी सोमबारदेखि प्रदेशसभा बैठक बस्ने जानकारी दिए।
प्रदेशसभामा अहिले गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक दूग्ध विकास बोर्ड, मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएका छन्।
यसैगरी, प्रादेशिक विद्युतसम्बन्धी विधेयक, प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सडकसम्बन्धी विधेयक, प्रादेशिक बालबालिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका दर्ता भएपनि थन्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।