काठमाडौं – कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका बार्सिलोना स्टार लियोनल मेस्सी अभ्यासको पहिलो दिनमै घाइते भएका छन् । अर्जेन्टिनाबाट कोपा अमेरिका खेलेका उनी सोमबार पहिलो अभ्यासमा थिए ।
मेस्सीको दाहिने गोडाको पिडौंलामा चोट लागेको हो । यसैले सोमबार अबेर अमेरिका भ्रमणमा जाने टोलीसँग मेस्सी नजाने भएका छन् ।
‘सोमबारबाट मेस्सी अभ्यासमा सामेल भएका थिए, अहिले उनी गोडामा लागेको चोटका कारण टिमबाट बाहिर भएका छन्’ बार्सिलोनाले विज्ञप्तीमार्फत जनाएको छ ।
उनको थप प्ररीक्षण भइरहेको र अमेरिका भ्रमणमा सामेल नहुने क्लबले जनाएको छ । साथै उनको चोट कस्तो रहेको र कहिलेसम्म मैदान फर्कन्छन् भन्ने विषय जाँचपछि मात्रै प्रस्ट हुने उल्लेख छ ।
बार्सिलोनाले आउँदो बिहीबार र आइतबार नापोलीसँग अमेरिकामा मैत्रीपूर्ण खेल खेल्दै छ ।
आइतबार राति इंग्लिस क्लब आर्सनललाई २–१ ले हराएर जोआन ग्याम्पर ट्रफीको उपाधि जित्दा मेस्सी बेञ्चमा नै थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।