काठमाडौं – नयाँ सिजनको तयारीका रुपमा लिइएको जोआन ग्याम्पर ट्रफीको उपाधि जितेसँगै स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आउँदो सिजनको सबै उपाधि जित्ने गरी लागिपर्ने बताएका छन् ।
आइतबार राति भएको फाइनलमा बार्सिलोनाले इंग्लिस क्लब आर्सनललाई २-१ ले हराएको हो । आर्सनलका लागि इमेरिकले खेलको ३६ औँ मिनेटमा नै गोल गर्दै अग्रता बनाएका थिए । ६९ औँ मिनेटमा नाइल्सको आत्मघाती गोलसँगै बराबरीमा आएको बार्सिलोनाका लागि अन्तिम समयमा स्वारेजले गोल गर्दै जित दिलाएका हुन् ।
गएको सिजन ला लिगा जिते पनि कोपा डेल रे को फाइनलमा र च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना पराजित भएको थियो । ‘मैले गएको सिजन पनि यस्तै भनेको थिएँ, हामी नयाँ सिजनमा सबै कुरा जित्नका लागि लागिपर्ने छौँ’ आर्सनलसँगको खेलमा बेञ्चमा रहेका मेस्सीले भने ।
‘हामीले लिगलाई पनि कम आँक्नु हुँदैन, ११ वर्षमा ८ वटा लिग खेल जित्नु चानचुने कुरा होइन । त्यो कति कठीन थियो भन्ने अहिले फर्केर सोच्दा पनि हुन्छ’ उनले भने, ‘अब हामीसँग नयाँ योजना छ, नयाँ उत्साह छ ।
बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्देले नयाँ सिजनमा आफूसँग मिडफिल्डमा धेरै खेलाडी रहेको हुँदा सम्हालिएर अघि बढ्ने बताएका छन् । ‘आउँदो वर्ष प्रतिस्पर्धा अझ बढ्ने छ, हामी हरेक उपाधि जित्नका लागि लागिपर्नै पर्छ’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।