बागलुङ- तमानखोला गाउँपालिका–४, लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। गएराति गएको पहिरोमा परी स्थानीय ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको ज्यान गएको प्रहरीले जनाएको छ।
पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएका बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिए।
पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ। डेढ सय मिटर माथिबाट खसेको पहिरोले ५ घरमा क्षति पुर्याएको जनाइएको छ।
पहिरोमा परी घाइते भएका ६ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन्। घाइतेलाई उपचारको लागि अस्पताल पठाउने तयारी भइरहेको छ। थप विवरण आउन बाँकी छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।