काठमाडौं- २०७२ सालको भूकम्पबाट प्रभावित ४ लाख २४ हजार ९ सय ७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन्। थप २ लाख १४ हजार ३ सय १४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
पुनर्निर्माण सम्पन्न भएका र बन्दै गरेका घरको संख्या ६ लाख ४४ हजार २ सय ९१ छ, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो। अनुदान सम्झौता गरिएका लाभग्राहीको संख्या भने ७ लाख ७३ हजार ४ सय ४७ छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताए। ‘गुनासा, जोखिममा परेका वर्ग र वस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि काम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ,’ उनले भने।
प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २ सय २१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४ सय ३९ ले दोस्रो किस्ता बुझिसकेका छन्। तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार १ सय १९ छ।
आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन्। त्यहाँ ६७ हजार ८ सय ३४ घर पुनर्निर्माण भएका छन्। त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६ सय १३ घर पुनर्निर्माण भएका छन्। धादिङमा ४८ हजार ४ सय ५४, दोलखामा ४४ हजार ५ सय ३३ र गोरखामा ४४ हजार २ सय ३१ घर पुनर्निर्माण भइसकेका छन्।
कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ। कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५ सय २५ घर पुनर्निर्माण भएका छन्।
जिल्लागत रुपमा पुनर्निर्माण सम्पन्न भएका घरको संख्याः
सिन्धुपाल्चोक– ६७, ८३४
नुवाकोट– ५२,६१३
धादिङ– ४८,४५४
दोलखा– ४४,५३३
गोरखा– ४४,२३१
काभ्रेपलाञ्चोक– ३०,८७७
रामेछाप– ३०,७११
ओखलढुङ्गा– १५,७७२
मकवानपुर– १३,०७०
सिन्धुली– १२,५८२
काठमाडौं– ११,५४२
रसुवा– १०,४१८
तनहुँ– १०,५२५
भक्तपुर– ८,४२०
ललितपुर– ४,२१६
लमजुङ– ३,२००
चितवन– २,९८२
खोटाङ– २,९२८
सोलुखुम्बु– २,३०२
पाल्पा– १,४३५
भोजपुर– १,२६८
धनकुटा– १,२०३
बागलुङ– ८८२
स्याङ्जा– ७०७
पर्वत– ६७६
नवलपरासी– ६२०
गुल्मी– ३२७
कास्की– ३२४
म्याग्दी– २७१
अर्घाखाँची– ५४
सम्झौता नगर्नेको नाम हट्दै
निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परि २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ। त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन्।
लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन्। त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे ५ हजार छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।