काठमाडौं– संस्कृति, पयर्टन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन विश्वविद्यालय बनाउने प्रस्ताव मन्त्री परिषद्मा पठाएको छ । पर्यटन सम्बन्धि उच्च शिक्षा दिने उद्देश्यले उक्त विश्वविद्यालयको परिकल्पना गरिएको हो।
मन्त्री परिषद्ले हाल विधेयक शाखामा पठाको उक्त प्रस्तावलाई सकेसम्म चाँडै मन्त्री परिषदबाट पास गराउने नवनियुक्त मन्त्री योगेश भट्टराईले बताएका छन्। नेपालको अर्थतन्त्रको एउटा बलियो आधार रहेको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विश्वविद्यालय बनाउन खोजिएको उनले बताए। उनले भने, ‘शिक्षा मन्त्रालयले आफ्नो अधिकार क्षेत्र मिचिएको भन्ने कुरा राखेकाले रोकिएको बुझेको छु । त्यो विषय क्लियर गरेर चाँडै प्रस्ताव पास गर्नुपर्छ।’
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई गाभेर पर्यटन विश्वविद्यालय काठमाडौँमा स्थापना गर्ने अवधारणा पूर्व मन्त्री स्व रवीन्द्र अधिकारीले अघि सारेका थिए।
सम्वन्धन दिन नपाउने प्रतिष्ठानहरु जस्तै मानित विश्वविद्यालय स्थापना गर्न लागिएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए। उनले भने, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्तै हुन्छ।'
विश्वविद्यालयले पर्यटन तथा होटल क्षेत्रमा आवश्यक पर्ने जनशक्तिलाई तालिम दिनुको साथै अन्य संस्थालाई पनि तालिम सञ्चालन गर्न अनुमति दिने छ।
पर्यटनलाई अर्थतन्त्रको महत्वपूर्ण आधार भन्ने गरेको भए पनि प्राज्ञिक आवश्यकताको बारेमा बहश नभएकाले यो क्षेत्रको अध्ययन अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्न स्व अधिकारी लागिपरेका थिए। उनले विश्वविद्यालयको प्रस्तावित विधेयकमा विज्ञहरुले सुझाव समेत लिइसकेका थिए। पर्यटन विश्वविद्यालय स्थापना गर्नुपर्नेमा पर्यटनसँग सम्बन्धित संघसंस्थाले माग गरिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।