काठमाडौं- आख्यानकार नीलम कार्की निहारिकाको नवीन कृति '४३ कथा' सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा आख्यानकारद्वय ध्रुवचन्द्र गौतम र माया ठकुरीले उक्त कथासंग्रह विमोचन गरे।
नीलमका हवन, कागजमा दस्तखत र बेली संग्रहका कथासहित केही नयाँ कथा पनि यो संग्रहमा समेटिएका छन्।
बेली संग्रहका कथामाथि बोल्दै समालोचक ज्ञानु अधिकारीले संवेदना जागृत गराउने भएकाले यी कथा सफल भएको बताइन्। 'यसमा बालबालिका र किशोरकिशोरीका कथा छन्,' उनले भनिन्, 'जहाँ हामी आफ्नो बालापन भेट्टाउन सक्छौं। यस्ता कथा शिक्षक/अभिभावकले पढ्नैपर्छ।' स्कुल/कलेजका आफ्ना विद्यार्थीलाई बेली पढ्न लगाएको भन्दै उनले आफूसँग भएको संग्रह ३१ जनाले पढिसकेको अनुभव सुनाइन्।
अर्का वक्ता कथाकार ध्रुव सापकोटाले आफ्नै मेहनतको प्रतिफलस्वरुप नीलमले स्तरीय कृतिहरु दिएको बताए। 'हवनदेखि नै म उहाँका कथासँग परिचित छु। सूक्ष्म अध्ययनले जन्मिएका कथाको परिधि फराकिलो बन्दै गएका छन्,' उनले भने, 'पुराना सीमा भत्काएर नवीनता दिने प्रयास प्रशंसनीय छ।' नीलमलाई पढ्न/जान्न चाहनेलाई '४३ कथा'ले निकै सघाउ पुर्याउने उनको भनाइ थियो।
आख्यानकार ध्रुवचन्द्र गौतमले नीलमको लेखन शैली र विषयको संयोजन लोभलाग्दो रहेको चर्चा गरे। जटिल सम्बन्धका कथालाई पनि सहज प्रस्तुति दिनु उनको शक्ति भएको गौतमले बताए।
अर्की वक्ता कथाकार माया ठकुरीले बैनी पुस्ताका लेखकहरुको सफलताले आफू निकै खुसी भएको बताइन्। 'कथा लेखन त्यति सजिलो छैन,' उनले भनिन्, 'कथासँगै योगमाया र चीरहरण जस्ता उपन्यास लेखेर महत्त्वपूर्ण पुरस्कार प्राप्त गर्नु उनको अर्को सफलता हो।'
'कागजमा दस्तखत'का कथामाथि सावित्री कक्षपतिले चर्चा गरेकी थिइन्।
नीलमले भने उमेरको ४४औं वर्षमा आइपुग्दा ४४ वटै कथा लेखेको सुनाइन्। 'मैले एकै वर्षमा ४३ कथा लेखेकी होइन,' उनले प्रस्ट्याइन्, 'पछिल्लो ६ वर्षमा ६ कथा मात्रै लेखेको रहेछु। पुराना संग्रहका र केही नयाँ कथा यसमा छन्। 'सावित्री अनि सावित्रीहरु' चाहिँ यसमा परेको छैन।' चीरहरण, योगमाया र अर्की आइमाई पढ्ने पाठकले अरु कृतिबारे पनि चासो राखेकाले एकै ठाउँ ४३ कथा ल्याइएको उनको भनाइ थियो।
पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।