काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार विशेष अदालतमा रौनियारसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्कामा घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए। ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा उनले घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
त्यस्तै विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप–कुलपति रौनियारले पटकपटक कमिसन बापत घुस–रिसवत लिएको अडियो–भिडियो सहितको उजुरी अख्तियारमा परेको थियो। अख्तियारमा परेको उजुरीको आधारमा खोजी भइराख्दा उनी घुससहित पक्राउ परेका थिए।
रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि सुशीलकुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट थप आठ लाख घुस–रिसवत माग गरेपछि अख्तियारले रंगेहात पक्राउ गरेको थियो। सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा रामहरि रौनियार मार्फत उनले घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
रौनियारले पटकपटक गरी जम्मा १ करोड २८ लाख घुस–रिसवत लिएको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले प्राडा राजकुमार रौनियारबाट भ्रष्टाचार निवारण ऐन अनुसार एक करोड २८ लाख बिगो असुल हुनुपर्ने दावी गरेको छ।
उनलाई सोही ऐन बमोजिम कैद र बिगो बराबरको जरिवाना गर्न समेत माग गरेको छ। रौनियार नेपाल सरकारको बिशिष्ट श्रेणीको पदाधिकारी भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।
भतिजो डा रामहरी रौनियारको हकमा अख्तियारले रिसवत लिने कार्यमा मतियार भई कार्य गरेकोले आठ लाख बराबरको बिगो कायम गरी असुल हुनुपर्ने माग गरेको छ। रामहरिको हकमा भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।