काठमाडौं- अमेरिकामा शनिबार भएको गोलीकाण्ड सेलाउन नपाउँदै फेरि यस्तै अर्को घटना भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान १ बजे डेटनको एक बार नजिकै गोली प्रहारको घटना भएको हो। उक्त घटनामा ९ जनाको मृत्यु भएको छ।
यस घटनामा गोली प्रहार गर्ने सुटरको पनि प्रहरी कारबाहीमा ज्यान गएको छ। डेटन प्रहरीले सामाजिक सञ्जालमा उक्त कुराको पुष्टि गरेको छ। घटनापछिका विवरणहरु सामाजिक सञ्जालमा राखिएका छन्।
अमेरिकाको टेक्सासस्थित अल पासोमा शनिबार भएको गोली प्रहारमा २० जनाको मृत्यु भएको थियो। उक्त घटनामा परि २६ जना घाइते भएका थिए। उनीहरुको उपचार भइरहँदा अमेरिकाकै अर्को सहरमा उस्तै प्रकारको गोली प्रहारको घटना भएको हो।
सिलो भिस्टा मलको वालमार्ट स्टोरमा भएको घटना टेक्सासको इतिहासकै भयानक भएको गभर्नर ग्रेग अब्बोटले बताए। उक्त स्थान अमेरिका र मेक्सिकोको सीमाबाट केही माइल टाढा रहेको स्थान हो।
२१ वर्षीय एक युवकलाई उक्त गोली प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले हिरासतमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।