काठमाडौं - स्पेनिस क्लब बार्सिलोनाले नेमारका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आधिकारिक रुपमा कुरा राख्ने भएको छ ।
ब्राजिलियन स्टार खेलाडी नेमारको नयाँ सिजन के हुने भन्ने अन्योल रहेका बेला बार्सिलोना आधिकारिक रुपमा नै अगाडि बढ्न लागेको हो । गोलका अनुसार त्यसका लागि फण्ड कसरी जुटाउन सकिन्छ भन्नेमा बार्सिलोनामा छलफल चलिरहेको छ ।
नेमार पीएसजीमा नयाँ सिजन निरन्तर नगर्ने योजनामा लागिरहेका छन् । उनको रोजाइँ बार्सिलोनामा नै केन्द्रित छ । पीएसजी पनि उनलाई क्लब छाड्न दिन तयार छ, तर सम्झौता अघि बढ्न भने सकेको छैन । बार्सिलोना पर्ख र हेरको स्थितिमा रहँदा नेमार नयाँ सिजनमा के हुने भन्ने अन्योलमा छन् ।
२०१७ मा बार्सिलोना छाडेर २०० मिलियन पाउण्ड कीर्तिमानी रकममा पीएसजी पुगेका नेमार पुनः बार्सिलोना फर्कने प्रयासमा ठूलो रकम नै बाधक बनिरहेको छ ।
अहिले पीएसजी समय बिताउने शैलीमा देखिएको छ । छाड्न चाहने खेलाडीलाई बाटो खुला रहेको बताउँदै आएको पीएसजीले समय सकिएपछि नेमार क्लबकै रहने र प्रोफेसनल रुपमा अघि बढ्ने आशामा छ । उनी क्लबमा नै रहँदा पनि उनको छबी नबिग्रियोस भन्नेमा पीएसजी सचेत देखिन्छ ।
फ्रेन्च पत्रिका ‘एलइक्युप’ ले भने नेमार अगस्ट १० अघि नै आफ्नो नयाँ सिजनको निर्णय गर्ने योजनामा रहेको र उनले पीएसजीमा निरन्तरता नदिने उल्लेख गरेको छ ।
बार्सिलोना नेमारका लागि केही खेलाडी पीएसजी पठाउन समेत तयार देखिन्छ तर पनि पीएसजीले उनको रकम घटाउने संकेत देखाएको छैन । पीएसजीका अध्यक्ष नासेर अल खेलाफीले नेमारले सेलिब्रिटीको जस्तो व्यवहार देखाएको र आफूहरु त्यस्तो व्यवहारको पछि नलाग्ने बताइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।