काठमाडौं- भारतले पहिलो टी-२० क्रिकेटमा वेस्ट इन्डिजमाथि ४ विकेटको जित दर्ता गरेको छ।
वेस्ट इन्डिजको लौडेरहिलमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले दिएको ९६ रनको लक्ष्य भारतले ६ विकेट गुमाएर १६ बल अगावै भेट्टाएको हो।
भारतीय बलरका सामु वेस्ट इन्डिजको पारी धर्मराएको थियो। उसका २ जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके। केरोन पोलार्डले सर्वाधिक ४९ रन बटुले। उनको पारीमा २ चौका र ४ छक्का सामेल थियो। लिकोलस पुरनले १६ बलमा २० रन जोडे।
वेस्ट इन्डिजका ५ ब्याट्सम्यानले खाता नै खोल्न सकेका थिएनन्। भारतका लागि नभदीप सैनीले सर्वाधिक ३ विकेट लिए। भुवनेश्वर कुमारले २ विकेट लिँदा भारतका अन्य ४ बलरको नाममा १/१ विकेट रह्यो।

९६ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ पनि राम्रो हुन सकेन। भारतले दोस्रो ओभरमै प्रारम्भिक ब्याट्सम्यान शिखर धवनलाई १ रनको स्थितिमा गुमाएको थियो। त्यसपछि लगातार रुपमा विकेट गुमाएको भारतका लागि कुनै पनि ब्याट्सम्यानले सुदृढ साझेदारी गर्न सकेनन्।
रोहित शर्माले सर्वाधिक २४ तथा कप्तान विराट कोहोली र मनिष पाण्डेले समान १९/१९ रन बटुले।
वेस्ट इन्डिजका सेल्डोन कोट्रेल, सुनिल नराइन र केमो पौलको नाममा समान २/२ विकेट रह्यो।
३ खेलको शृंखलाको दोस्रो खेल आइतबार लौडेरहिलमै हुँदैछ। दोस्रो खेलमा पनि जित हात पारेमा भारतले शृंखला कब्जा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।