वासिङ्टन- अमेरिकाको टेक्सासस्थित अल पासोमा शनिबार भएको गोली प्रहारको घटनामा २० जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य २६ जना घाइते भएका बिबिसीले लेेखेको छ।
सिलो भिस्टा मलको वालमार्ट स्टोरमा भएको घटनामा परि ठूलो संख्यामा मानवीय क्षति भएको हो। टेक्सासका गभर्नर ग्रेग अब्बोटले सो घटनालाई लिएर टेक्सासको इतिहासमै एउटा भयानक दिन भनेका छन्।
गोली प्रहार गरिएको स्थान अमेरिका र मेक्सिकोको सीमाबाट केही माइल टाढा रहेको स्थान हो।
२१ वर्षीय एक युवकलाई उक्त गोली प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले हिरासतमा लिएको छ। गभर्नर अब्बोटले ति युवकलाई पक्राउ गरेकोमा प्रहरीको सराहनासमेत गरेका छन्। उनले पीडित र तिनका आफन्तको समर्थनमा सबैजना रहेको बताएका।
अमेरिकी सञ्चार माध्यमका अनुसार पक्राउ परेका शंकास्पद युवक प्याट्रिक क्रुसिअस हुन्। उनी डल्लास क्षेत्रको एलेन नगरका बासिन्दा रहेको पुष्टि भएको छ। जुन स्थान अल पासो क्षेत्रबाट १ हजार ४६ किलोमिटर पूर्वमा पर्छ।

सिसिटिभी फुटेजमा कालो टिसर्ट लगाएका ति युवकले बन्दुक भिरेको देखिन्छ। बन्दुकधारीका बारेमा एफबिआईले अनुसन्धान गरिरहेको बिबिसीले जनाएको छ। हमलामा स्थानीय हिस्पानिक समुदायलाई लक्षित गरेको पाइएकोले सो बारेमा प्रहरीले अनुसन्धान थालेको छ।
आल पासो प्रहरी प्रमुख चिफ ग्रेगले स्थानीय समयअनुसार बिहान १०ः३९ बजे गोली प्रहार भएको थियो। त्यसको ६ मिनेट भित्रैमा त्यहाँ सुरक्षाकर्मी पुगेका थिए। तर, वालमार्टमा धेरै मानिसहरु जम्मा भएका कारण ठूलो संख्यामा मानवीय क्षति भएको बताइएको छ।
अल पासोको प्रहरीले सुरुमा रगतको अभाव भएको भन्दै रक्तदानका लागि आग्रहसमेत गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ज्यादै खराब कार्य भएको बताएका छन्।
डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बेछो ओ रोर्केले आफ्नो लस भेगासको चुनावी अभियान स्थगन गरेका छन्।

घटनापछि सुरुमा कम्तीमा ११ जना मानिसलाई डेल सोल मेडिकल सेन्टरमा लगिएको जनाइएको थियो। सो सपिङ मलमा सार्प सुटरले गोली हानेको स्थानीय प्रहरीको आशंका छ। सपिङ मल आसपासका अन्य व्यवसायीसमेत गोलीकाण्डबाट त्रसित भएका छन्।
गत साता मात्रै अमेरिकामा यस्तै आक्रमण भएको थियो। सन् २०१९ मा मात्र अमेरिकामा ८ हजार ४ सय ३४ जनाले यस्तै आक्रमणबाट ज्यान गुमाएका छन्।
अमेरिकामा सार्वजनिक स्थलमा गोली प्रहार गर्ने क्रम लगातार बढ्दै गइरहेको छ। पछिल्ला दिनहरुमा स्कुल वा खाली मैदान जहाँ पनि यस्ता घटना भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।