काश्मीर- विश्वभरबाट ४५ दिने अमरनाथ यात्रामा आएका हिन्दु तीर्थयात्रीलाई सकभर छिटो घर फर्किन भारतीय प्रशासनले गरेको आग्रहसँगै पूजा र प्रार्थनाका लागि त्यहाँ पुगेका यात्रुहरू हतारमा आफ्नो गन्त्व्यतिर लागेका बताइएको छ।
भारत प्रशासित काश्मीरमा सरकारी अधिकारीले अप्रत्यासित रुपमा हिन्दु तीर्थयात्र रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँ पुगेका हिन्दु तीथयात्रीहरू, उक्त क्षेत्रमा रहेका विद्यार्थीहरू शनिबार हतारमा आफ्नो घरतर्फ जान हजारौंको सङ्ख्यामा बस स्टेसनहरूमा पुगेका थिए। सरकारी निर्देशनले स्थानीयमा पनि त्रास र भ्रम उत्पन्न भएको बताइएको छ।
जम्मु–काश्मीर राज्य सरकारले शुक्रबार एक निर्देशन जारी गर्दै ‘अमरनाथ यात्रामा रहेका तीर्थयात्री’ र ‘विद्यमान सुरक्षा अवस्था’विरुद्ध आतंकवादी आक्रमण हुने गुप्तचर सूचना भएकाले तीर्थयात्री र पर्यटकले ‘तत्काल’ उक्त क्षेत्र छाड्नुपर्ने बताएको थियो।
भारतको केन्द्र सरकारले काश्मीरमा केही हप्ता पहिले थप १० हजार सुरक्षाकर्मी तैनाथ गरेको र आतङ्कवादी हमला हुनसक्ने भन्दै गरेको पछिल्लो निर्देशनले स्थानीय बासिन्दामा भय उत्पन्न गराएको हो। यहाँका वासिन्दाले अवस्था लामो समयसम्म खराब हुने त्रासले खाद्यान्न, औषधि, इन्धनसमेत जम्मा गर्न थालेपछि स्थानीय बजारहरूमा सामान किन्नेहरूको भीड हुन थालेको देखिएको छ।
आफ्नो परिचय नखुलाउने सर्तमा एक उच्च प्रहरी अधिकारीले भने, 'आफूहरुलाई ‘वृहद स्तरको कानून व्यवस्थाको लागि तयार रहन’ भनिएको र यसका लागि हामीहरू तयारी अवस्थामा छौँ।'
'विगत ३० वर्षदेखि मनोवैज्ञानिक युद्ध चलिरहेको छ र त्यो हामीविरुद्ध चालिएको छ। यहाँका मानिस मारिरहेको कुरातर्फ विश्वले आखाँ चिम्लेर बसेको छ। उनीहरुलाई हामीमाथि के भइरहेको छ भन्ने कुराको कुनै मतलब छैन,' श्रीनगरका ५५ वर्षीय एक व्यापारी नाजिर अहमदले भने, 'शनिबार बिहानदेखि मैले मानिस गेडागुडी, चामल र पिठो किन्न हतारिएको देखिरहेको छु। मानिस के हुन लागेको भनेर चिन्तित छन्।'
सन् १९४७ मा स्वतन्त्र भएपछि भारत र पाकिस्तानले काश्मीरलाई विभाजन गरेका थिए। त्यसयता काश्मीरकै विषयमा यी आणविक शस्त्र सम्पन्न दुई छिमेकीबीच ३ पटक युद्ध भइसकेको छ। भारतले यस क्षेत्रमा सक्रिय सशस्त्र विद्रोहीलाई पाकिस्तानले सहयोग गरिरहेको आरोप लगाउँछ। तर, इस्लामावादले भने यसलाई खण्डन गर्दै आएको छ।
काश्मीर उपत्यका र विद्यामान पाकिस्तानसँगको सिमाना (एलओसी)मा गरेर लाखौँको सङ्ख्यामा सैनिक तैनाथ छन्। काश्मीर विश्वमै धेरै सेनाको उपस्थित रहेको क्षेत्र मानिन्छ।
अनुगमन समूहका अनुसार भारत प्रशासित काश्मीरको द्वन्दमा विगत ३० वर्षमा ७० हजार मानिसको ज्यान गइसकेको छ। युद्धमा अधिकांश सर्वसाधारणको ज्यान गुम्ने गरेको स्थानीयको भनाइ छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।