शाङ्घाई- एक वर्षदेखि जारी अमेरिका–चीन 'व्यापार युद्ध'को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः सुरु भएको छ। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्विटले वार्तालाई नै ओझेलमा पारेको छ।
व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन्। अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ।
यतिखेर अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टिभेन मन्चिन शाङ्घाईमा छन्। चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका उपप्रधानमन्त्री लिउ हेले गरेका छन्। दुवै टोलीले बुधबार बिहान एकअर्कासँग हात मिलाएर वार्तामा बसेका थिए।
अमेरिकी अधिकारीहरु वार्ताका लागि मंगलबार नै शाङ्घाई पुगेका थिए।

यहीबीच, अमेरिकी राष्ट्रपतिले ट्विट गर्दै व्यापार वार्ताप्रति चीन त्यति गम्भीर नरहेको आरोप लगाएका छन्। उनले भने, 'मेरो टोलीले अहिले चिनियाँ पक्षसँग वार्ता गरिरहेको छ, तर चिनियाँहरु आफूलाई लाभ हुने कुरामा मात्र ध्यान दिइरहेका छन्। यस्तो सम्झौता हाम्रा लागि कुनै महत्वको होइन।'
चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप छ। ट्रम्पले भने, 'चीनसँगको समस्या नै यही हो, उनीहरु इमानदार हुन सकेनन्।'
विज्ञहरुले राष्ट्रपति ट्रम्पका पछिल्ला ट्विटले पहिल्यैदेखि तनावमा रहेको व्यापार वार्तालाई सहजीकरण गर्न सहयोग नगर्ने बताएका छन्।
शाङ्घाई बैठक प्रारम्भ हुनु अघिल्लो दिनमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील मुलुकको दर्जा हटाउने चेतावनी दिएका थिए। अमेरिकी उक्त भनाईलाई चीनले 'अमेरिकी अहङ्कार' भन्दै प्रतिवाद गरिसकेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।