फराह- अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दूरीमा चल्ने एक यात्रुबाहक बसलेले किच्दा भएको विस्फोटमा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ।
प्रारम्भिक समाचारमा दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो। स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन्।
बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका स्थानीय प्रहरीले जनाएको छ। घाइतेहरुलाई हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ।
बम अफगानिस्तानको विद्रोही समूह तालिवानले अलपत्र अवस्थामा राखेको हुनसक्ने अनुमान गरिएको छ। राष्ट्र संघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो।
तालिबान लडाकू समूहले सुरक्षाबललाई लक्षित गरी विस्फोटक पदार्थ, सडक किनारको बम र बारुदी सुरुङ्ग आक्रमण गर्दै आएका छन्। तर, तालिबान लडाकू समूहले तयार पारेका घातक घरेलु हातहातियारले पनि सर्वसाधारण जनतालाई हानी पुर्याउँदै आएको छ।
अफगानिस्तानमा जारी द्वन्द्वमा यसै वर्षको सुरुको ६ महिनामा नै १ हजार ३ सय ६६ जना सर्वसाधारणको मृत्यु भएको छ भने २ हजार ४ सय ४६ जना घाइते भएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।