काठमाडौं – इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबालालाई ल्याउनका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रयास थालेको छ ।
डिबाला आउँदो सिजनअघि क्लब छाड्ने मनस्थितिमा भए पनि उनी राम्रो प्रस्तावको पर्खाइमा छन् । म्यानचेस्टर युनाइटेड डिबालासँगको सुरुवाती कुराकानीमा रहेकाले धेरै कुरा नबाहिरिए पनि स्टार फरवार्ड भित्याउन युनाइटेड लागिपरेको छ । डिबालाले गएको सिजन युभेन्टसका लागि पाँच गोल गरेका थिए ।
क्रिष्टियानो रोनाल्डो आएपछि क्लब फेरिएको भूमिकाले डिबालाले कम समय पाइरहेका छन् । त्यसले पनि उनी नयाँ सिजनका लागि क्लबको खोजिमा लागेका हुन् ।
युभेन्टस भने युनाइटेडबाट रोमुलु लुकाकु ल्याउन प्रयासरत छ । लुकाकुमाथि इन्टर मिलानले पनि इच्छा देखाइरहेको खबरहरु बाहिरिएका छन् । लुकाकु र डिबालाई साटफेर गर्न सकिने बारेमा पनि छलफल चलिरहेको छ ।
युनाइटेडका प्रशिक्षक ओल गुनार सोल्सकेयरले पनि नयाँ सिजन सुरु हुनुअघि केही खेलाडी ल्याउने चाहना देखाएका छन् । त्यसमा डिबाला हुने या नहुने भन्नेमा प्रशिक्षकले केही बताएका छैनन् । ‘म यहाँ हल्लाबारे कुरा गर्न बसेको होइन, अरु क्लबका खेलाडीबारे के हुन्छ म यसै भन्न सक्दिन’ उनले भनेका छन् ।
‘हामी एक या दुई खेलाडीका लागि प्रयास गरिरहेका छौँ, अब लिग सुरु हुन पनि धेरै दिन बाँकी छैन त्यसैले हामी दुई अनुहारलाई ल्याउन सक्छौँ कि भन्नेमा छौँ’ उनले भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।