काठमाडौं- बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी मंगलबारदेखि काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको प्रदर्शनी हलमा आरम्भ भएको छ। प्रदर्शनीको नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शाम्सले उद्घाटन गरिन्।
'बन्धुत्व' शीर्षकमा आयोजित कला प्रदर्शनीको उद्घाटनपछि बोल्दै राजदूत शाम्सले प्रदर्शनीले नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास व्यक्त गरिन्।
भाषा, संस्कृति र कलाको सन्दर्भमा दुवै देश अत्यन्तै नजिक रहेको बताउँदै उनले दुई मुलुकबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध प्रगाढ बनाउने यस्ता कलात्मक गतिविधिले भविष्यमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखिन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाल र बंगलादेशका कलाकारहरु सम्मिलित कला प्रदर्शनीको सफल आयोजनाका लागि आयोजक संस्था बंगलादेशको चारुर मित्र कलाकार समूहलाई धन्यवाद दिए। कुलपति कर्माचार्यले प्रदर्शनीले दुई देशका कलाकारहरुबीच कलासम्बन्धी ज्ञान, सीप र अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गरे।
बंगलादेशी कलाकार एवम् चारुर मित्र कलाकार समूहका संयोजक तैमुर हन्नानले नेपाल र बंगालदेशका कलाकारहरु सम्मिलित यो प्रदर्शनीको सफलताले आफूलाई सन्तोष र थप उत्साह मिलेको बताए। यसपश्चात् नेपाल, बंगलादेश र भारतका कलाकारहरु सम्मिलित अर्को कला प्रदर्शनी आयोजना गर्ने र त्यो त्रिदेशीय प्रदर्शनी भारतको नयाँ दिल्लीमा हुने उनले उद्घोष गरे।
चार दिवसीय प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शित छन्।
प्रदर्शनीमा नेपाली कलाकारहरु अनुराधा थापा, भुवन थापा, किशोर नकर्मी, कान्छाकाजी भासिमा, लक्ष्मण मण्डल, ओम खत्री, पुनम कुमारी दास, मिथिला देवी यादव, रञ्जु यादव, एससी सुमन र सुष्मा राजभण्डारीका कलाकृति सहभागी छन्।
यस्तै, बंगलादेशी कलाकारहरु अमजद आकाश, फरिहा बिन्ता खैर, दिलसाद पठान, इमाम हुसैन सुमन, लक्की ओस्मान, मैदुल इस्लाम खान, मोहसिन कबिर, नज्मा अख्तर, शबनम चौधरी, सिग्मा हक अंगकान, सुनन्दा रानी बर्मन र तैमुर हन्नानका कलाकृति प्रदर्शनीमा राखिएका छन्।
साउन १७ गते शुक्रबारसम्म चल्ने प्रदर्शनीमा सहभागी हुन ५ जना बंगलादेशी कलाकार काठमाडौं आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।