प्योङयाङ- उत्तर कोरियाले पुनः छोटो दूरीमा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको छ। दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले बुधबार पूर्वी तटीय क्षेत्र वोनसानबाट २ वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले एक साताको बीचमा गरेको यो दोस्रो क्षेप्यास्त्र परीक्षण रहको पनि दक्षिणले जनाएको छ।
यो गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनबीचमा कोरियाली सीमाक्षेत्र पुनमानजोममा भएको अकस्मातको भेटघाटपछि गरिएको दोस्रो क्षेप्यास्त्र परीक्षण रहेको बिबिसीले लेखेको छ।
यसअघिको परीक्षणपश्चात् उत्तरले दक्षिण कोरियाले अमेरिकासँग मिलेर गर्न लागेको संयुक्त सैन्य अभ्यासका लागि चेतावनीस्वरुप उक्त कदम चालिएको स्पष्ट पारेको थियो।
क्षेप्यास्त्रको परीक्षण स्थानीय समयानुसार बुधबार बिहान ५ः०६ र ५ः२७ मा वोनसनको कोल्मा क्षेत्रबाट गरिएको हो। क्षेप्यास्त्र २ सय ५० किलोमिटर दूरी पार गर्दै जापानी समुद्र (पूर्वी समुद्र)मा पुगेर खसेको थियो। क्षेप्यास्त्र ३० किलोमिटरको उचाइसम्म पुगेको थियो।
दक्षिण कोरियाली रक्षामन्त्री जियोङ कियोङ-डोले बुधबार गरिएको क्षेप्यास्त्र परीक्षण यसअघिका भन्दा भिन्न मोडलको भएको दाबी गरे।
उता क्षेप्यास्त्र परीक्षणबाट आफ्नो क्षेत्रमा कुनै प्रभाव नपरेको जापानी प्रधानमन्त्री सिन्जो आवेले प्रस्ट पारेका छन्।
६ दिनअघि उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको थियो। ती क्षेप्यास्त्रमध्ये पहिलोले ४ सय ३० किलोमिटर र दोस्रोले ६ सय ९० किलोमिटरको यात्रा तय गर्दै खसेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।