बेइजिङ- चीनको उत्तर पश्चिमी सिनच्याङ युगुर स्वायत्त प्रदेशमा ५ वर्षमा २३ लाख १० हजार नागरिक गरिबीबाट मुक्त गरिएको क्षेत्रीय अधिकारीले मङ्गलबार जनाएका छन्।
सन् २०१३ मा उक्त क्षेत्रको गरिबीदर १९.५ प्रतिशत रहेकोमा सन् २०१८ मा उक्त क्षेत्रको गरिबी दर ६ प्रतिशतमा झरेको छ।
सन् १९७८ मा उक्त प्रदेशको ग्रामिण इलाकाका नागरिकको प्रतिव्यक्ति आय १ सय १९ युआन रहेकोमा सन् २०१८ मा ११ हजार ९ सय ७५ युआन पुगेको सिनच्याङ क्षेत्रीय सरकारका प्रमुख शोहरत जकिरले बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा बताए।
शोहरतका अनुसार सिनच्याङले गत वर्ष गरिबी निवारणका लागि ३३ अर्ब ४० करोड युआन बजेट योजनावद्ध तरिकाले लगानी गरेको र यसको ८५.५ प्रतिशत होतान काश्गर, अक्सु र किजिल्सु किर्गिजमा खर्च गरिएको छ।
सिनच्याङ प्रदेश चीनको सबैभन्दा ठूलो ताक्लिमाकन मरूभूमिको वरपर पर्दछ।
चीनका राष्ट्रपति सी चिन पिङको सन् २०२० सम्म चीनबाट गरिबी निवारण गर्ने कार्यक्रमअनुसार चीनले युद्धस्तरमा काम गरिरहेको छ।
चीनले भौगोलिक विकटता भएका सानातिना वस्तीलाई सामूहिक समाजवादी नमूना वस्तीको विकास गरी गरिब नागरिकलाई पुनर्स्थापना गर्ने साथै ठूला गरिब वस्ती तथा गाउँहरूमा भौतिक संरचनाको निर्माण गरी गरिबी निवारणको कार्यक्रमलाई सफल कार्यान्वयनमा ल्याएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।