टोकियो- जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन्।
गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ। जापानको अधिकांश भू-भागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो।
गर्मीका कारण ५ हजार ६ सय ६४ जना अस्पतालमा पुगेका थिए। उनीहरूमध्ये १ हजार १ सय ९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन्।
गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये १ हजार ७ सय ९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ। उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन्।
अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत बिरामी ६५ वर्षमाथिका वृद्धवृद्धा रहेका बताइएको छ।
आइची क्षेत्रमा सवैभन्दा बढी ३ सय ९३ जना अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ। त्यस्तैे, ओसाका क्षेत्रमा ३ सय ८८, टोकियोमा २ सय ९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ।
मङ्गलबार पनि जापानमा तापक्रम बढेको बताइएको छ। सिन्ह्वा समाचार संस्थालाई प्राप्त सूचनाअनुसार मध्य जापानमा पर्ने गिफीको ताजिमी क्षेत्रमा मङ्गलबार तापक्रम ३७.१ सेल्सियस पुगेको छ। टोकियो नजिकका क्षेत्रहरू कुमागाया, साइतामा र क्योतोमाढी वरपर पनि ३६.८ सेल्सियस भन्दा बढी तापक्रम मापन भएको बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।