काबुल- अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को सुरुका ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ। दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले जानकारी दिएको छ।
तर सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको छ। राष्ट्रसंघले सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा भएको मानवीय क्षतिको विषयमा मङ्गलबार प्रकाशित एक प्रतिवेदनमा उक्त जानकारी दिइएको हो।
यस सशस्त्र द्वन्द्वमा परी सन् २०१९ जुन ३० सम्म ४ सय ३० जना महिलाको मृत्यु वा अंगभंग भएको छ। ती महिलामा एक सय ४४ जनाको मृत्यु भएको र अन्य २ सय ८६ जना घाइते भएका छन्। यो सङ्ख्या सन् २०१८ को यसै समयको तुलनामा २२ प्रतिशतले घटेको हो।
सन् २०१९ को सुरुको ६ महिनामा भएको यस द्वन्द्वमा परी तीन सय २७ बालबालिकाको मृत्यु हुनुका साथै अन्य ८ सय ८० जना घाइते भएका थिए। बालबालिकाको यो हताहत सङ्ख्या उच्च भएको र सर्वसाधारणको हताहतको ८४ प्रतिशत बालबालिका नै रहेको जनाइएको छ।
सो मिसनका अनुसार अध्ययन गरिएको उक्त समयमा ५२ प्रतिशत सर्वसाधारण मारिएका छन् भने ३७ प्रतिशत सुरक्षाकर्मीको ज्यान गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।