ब्राजिल- ब्राजिलको पारा राज्यस्थित एक जेलमा कैदीहरुका दुई समुहबीच भएको झडपमा परी ५२ जनाको मृत्यु भएको छ। अल्टामिरा जेलमा करिब ५ घन्टासम्म चलेको 'ग्याङ फाइट'मा ५२ जना कैदीको मृत्यु भएको ब्राजिलका अधिकारीहरुले जनाएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेलभित्रको एक ब्लकका कैदी अर्को ब्लकमा घुसेर आक्रमणमा उत्रिँदा सो झडप भएको हो। मारिने १६ जनाको शिर नै छेदन गरिएको छ।
भिडन्तकै क्रममा कैदीहरुले जेलको एक हिस्सामा आगजनीसमेत गरेका थिए। सोही कारण पनि श्वास फेर्न कठिनाइ हुँदा केही कैदीको मृत्यु भएको हो।

कैदीले जेलका अधिकारीहरुलाई बन्धक बनाएर सो घटना गराएको बुझिएको छ। घटनाका दौरानमै उनीहरुलाई प्रहरीले कैदीको साथबाट मुक्त गराएका थिए।
स्थानीय समयानुसार मंगलबार बिहान ७ बजेबाट सुरु भएको सो भिडन्तलाई दिउँसो मात्रै प्रहरीले पूरा नियन्त्रणमा लिएको थियो। ब्राजिलियन टिभीमा प्रशारण गरिएका टिभी फुटेजमा जेलको एक हिस्सामा अझै पनि धुवाँ निस्किरहेको देखाइएको छ। उक्त भिडियोमा जेलमा रहेका कतिपय कैदी भने अन्य भवनको छतमा देखिएका छन्।
जेलमा ग्याङ फाइटमा उत्रिने दुई पक्षका बारेमा हालसम्म कुनै जानकारी गराइएको छैन। ब्राजिलको 'जी-१' समाचार संस्थाका अनुसार अल्टामिराको उक्त जेलमा क्षमताभन्दा बढी कैदी राखिएको छ। २ सय कैदी क्षमताको उक्त जेलमा ३ सय ११ कैदीलाई राखिएको थियो।

देशभरका जेलमा करिब ७ लाख मानिस कैदमा रहेको बुझिएको छ। अधिकांश जेलमा क्षमताभन्दा बढी कैदीलाई राखिएको छ।
ब्राजिलमा जेलहरुमा हुने यस्ता हिंसाका घटनालाई सामान्य रुपमा लिने गरिएको छ। गत मे महिनामा एकै दिन देशका छुट्टाछुट्टै ४ स्थानका जेलमा भएका झडपमा ४० जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।