मस्को- रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ।
नाभाल्नीका निजी वकील तथा चिकित्सकले भने उनलाई अज्ञात विषाक्त तत्व दिइएको सूचना उनले उपचारका क्रममा गरेको अस्पताल नम्बर ६४ बाट गोप्यरूपमा प्राप्त गरेको दाबी गरेका छन्।
नाभाल्नीको स्वास्थ्य अवस्थामा समस्या रहेकै समय पुनः जेल चलान गरिएको उनका वकील होल्गा मिखाइलोभले सञ्चारकर्मीसँग बताए।
नाभाल्नीलाई मुखमा एलर्जीको समस्या आएको भनी आइतबार अस्पताल भर्ना गरिएको थियो। शनिबार नै नाभाल्नीका समर्थकले स्थानीय निर्वाचनलाई स्वच्छ तथा निष्पक्ष बनाउनुपर्ने भन्दै गरेको प्रदर्शनमा करिब १ हजार ४ सय प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो।
प्रतिपक्षी नेताका निजी चिकित्सक अनास्तासिया भाजिल्यभाले नेता नाभाल्नीको रोगको उपचार नहुँदै ‘माथिको आदेश’ भन्दै जेलमा फिर्ता पठाइएको दाबी गरे। उनले नाभाल्नीको शरीरमा कुनै ‘विषाक्त रासायनिक तत्व’को प्रयोगका कारण एलर्जीको समस्या भएको आशङ्का व्यक्त गरे।
नाभाल्नीले कानुनविपरीत प्रदर्शनको आयोजना गरेको भन्दै अघिल्लो साता नियन्त्रणमा लिई जेलमा राखिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।