काबुल- अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूले असुरक्षित महसुस गरेका छन्।
राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपतिका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरुले असुरक्षित महसुस गरेका हुन्।
उपराष्ट्रपतिका उम्मेदवार अमरूल्लाह सालेहको कार्यालयमा भएको आतंककारी हमलामा परी २० जनाको मृत्यु भएको घटनापछि उनीहरूले सुरक्षाको खतरा महसुस गरेका हुन्।
आइतबार भएको आक्रमणमा मृत्यु भएकामध्ये अधिकांश सर्वसाधारण रहेका छन् भने अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्। आक्रमणकारीहरुले आक्रमण गरेको स्थान अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता सालेहको कार्यालयमा आइतबार करिब ४ः४० बजे पारेर विस्फोट गराइएको अफगानी प्रहरीले जनाएको छ।
सालेहले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ। युद्धग्रस्त देश अफगानिस्तानमा राष्ट्रपतिय निर्वाचनका लागि घानीसहित कूल १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
आइतबारदेखि सुरु भएको प्रचारप्रसार अभियान झन्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ।
आयोगले मतदान सुरु हुनुभन्दा ४८ घन्टा अगाडिसम्म मात्रै प्रचारप्रसार गर्न पाइने समयावधि तोकेको छ। अफगानिस्तानमा राष्ट्रपति चयनका लागि आउँदो सेप्टेम्बर २८ तारिखका दिन मतदान हुने तय भइसकेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।