काठमाडौं- राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकार र सभामुखले जनताको अधिकार हनन गरेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सभामुखको रुलिङ तथा आफैंले गरेको प्रतिबद्धता कार्यान्वयन नगरेर सरकार र सभामुखले जनताको अधिकार हनन गरेको टिप्पणी गरेका हुन्।
गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटकपटक गरेको रुलिङ कार्यान्वयन नगराएर सभामुख कृष्णबहादुर महराले र सार्वजनिक नगरेर सरकारले जनताको अधिकार हनन गरेको तर्क नेता महतोको थियो।
सत्तारुढ दलका सांसद भीम रावलले भने संसद बैठक अवरुद्ध गरेर नेपाली कांग्रेस र राजपाले जनताको पक्षमा संसदमा उठाउनुपर्ने आवाज बन्द गर्ने काम गरेको टिप्पणी गरे।
नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ वटा घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएका छन्।
सोमबार अवरोधका बीच सभामुखले कार्यसूची अघि बढाउन लागेपछि दुवै पार्टीका सांसदहरुले रोष्ट्रम घेराउ गरी नाराबाजी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।