काठमाडौं– प्रतिनिधि र प्रदेशसभाको चुनावपछि बिहीबार पहिलोपटक बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि चल्ने भएको छ।
बिहीबार बिहान ११ बजेदेखि बसेको बैठकमा साँझसम्म २८ सदस्यले धारणा राखेका थिए। शुक्रबारका लागि पनि बिहान ११ बजेकै लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ।
बिहीबारको बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेको थियो।
सभापति देउवाले चुनावी समीक्षा अर्को बैठकमा गरिने बताए। उनले सुरुमै लिखित धारणा राख्दै चुनावी समीक्षाका लागि लामो समय लिएर छलफल गर्नुपर्ने बताएका थिए। यो बैठकमा राष्ट्रियसभा निर्वाचनका विषयमा मात्रै केन्द्रित हुन विशेष आग्रह गरेका थिए।
तर, बैठकमा बोल्ने सदस्यहरुले चुनावी पराजयमा नेतृत्वलाई असफल करार गर्दै आलोचना गरेका थिए।
नेता रामचन्द्र पौडेलले देउवाले सरकारको नेतृत्व गरेपिच्छे पार्टीलाई क्षति मात्रै पुगेको बताए।
विशेषगरी पार्टीका युवा नेताहरुले नेतृत्वको आलोचना गरेका थिए। युवा नेताहरु प्रदीप पौडेल, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, धनराज गुरुङ लगायतका नेताले सभापति देउवाको कडा आलोचना गरेका थिए।
नेता भण्डारीले पार्टी विधिविधान अनुसार नचलेर राजनीतिक भ्रष्टाचार गरिएको आरोप लगाएका थिए। उनले कार्यसम्पादन समिति र संसदीय समिति असफल भएको धारणा राखे। समितिमा रहेका नेताहरुको नीति र टिकट वितरण दुवै असफल भएको उनले आरोप लगाएका थिए।
नेता प्रदीप पौडेलले बैठकबाट चुनावी हार भएको होइन भनी निष्कर्ष ननिकाल्न चेतावनी नै दिए।
सदीय समितिमा रहेका अर्जुननरसिंह केसीले टिकट वितरणमा नै गल्ती भएको बताएका थिए।
'पार्टी सभापतिको राजीनामा चाहिँ मागिएन, बाँकी सबै कुरा भएका छन्', बैठकमा सहभागी एक नेताले भने।
देउवा पक्षीय नेताहरुले भने पार्टी नेतृत्व भनेको व्यक्ति मात्रै नभएर केन्द्रीय समिति समेत भएकाले चुनावी हारमा सबैले सामूहिक जिम्मेवारी लिनुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।