काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले समान विचारधारा भएका दलहरुबीच एकता गर्ने राप्रपा (संयुक्त) को निर्णयलाई स्वागत गर्ने निर्णय गर्यो।
पशुपति शमशेर राणाको नेतृत्वमा रहेको राप्रपा संयुक्तले केही दिनपहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको एकता आवश्यकता भएको भन्दै एकता आह्वान गरेको थियो। सोही आह्वानको जगमा टेकेर कमल थापाको पार्टीले त्यसको स्वागत गरेको छ।
पछिल्लो यो प्रक्रियाले भित्री रुपमा भने यी दुई पञ्चायतको पुष्ठभूमि भएका पार्टीहरु एक हुने प्रयासमा रहेको बुझिन्छ।
यदि दुई पार्टीबीच एकता भएमा एकजुट हुनुअघि नै फुटको प्रक्रिया सुरु भइहाल्ने राप्रपाको यो पाँचौं एकता हुनेछ।
२०४७ सालमा गठन भएको राप्रया यसबीचमा जति पटक जुटेको छ, त्योभन्दा धेरै फुटको सिकार भएको इतिहास छ। गणतन्त्रपछि दुई धारमा संघर्ष गरिरहेका उनीहरु पुन: राजसंस्थालाई स्वीकार गर्न सकिने तर्कका आधारमा एक ठाउँमा आउन लागेका छन्।
फुटेर अलग पार्टीको अस्तित्वमा रहेका पुराना प्रभावशाली नेता प्रकाशचन्द्र लोहनी र राणा एक भएर राप्रपा संयुक्त बनेपछि पुन: कमल थापासँग एकता गर्न तयार भएका छन्। यसअघि २०७५ साउनमा पार्टी एकताको अन्तिम तयारी भए पनि त्यो योजना असफल भएको थियो।
कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीका बीचमा आलोपालो अध्यक्ष हुने सहमति भए पनि राजसंस्थालाई स्वीकार गर्नेबारेमा एकमत हुन नसक्दा २०७५ साउन २५ को एकता घोषणा नै बिथोलिएको थियो। साउन २४ गते राणाले विज्ञप्ति निकालेर पार्टीको आन्तरिक विधानमा सहमति नभएकाले तत्काल पार्टी एक हुन नसक्ने घोषणा गरेपछि एकाएक राप्रपा एकीकरण टर्यो। त्यसको ठिक ६ महिनापछि स्वर्गीय सूर्यबहादुर थापा क्याम्पका नेता प्रकाशचन्द्र लोहनी राणासँग मिसिन आएका थिए।
उक्त एकतापछि पुन: कमल थापासँग वार्ता चलिरहेको थियो। पार्टी एकीरणका लागि थापाले राजसंस्था नै पहिलो बिन्दु बनाएपछि राणाहरुले त्यसलाई स्वीकार गरेका हुन्। आधारपत्र नै जारी गर्दै राप्रपा संयुक्तले राजतन्त्रलाई स्वीकार गर्ने भनेको छ। 'अहिलेको आवश्यकता बलियो राष्ट्रवादी शक्तिको एकता भएकाले सबैलाई मान्ने हुने प्रकारको राजतन्त्र स्वीकार गर्न हामी तयार भएको हौं,' राप्रपा संयुक्तका नेता ठाकुर शर्माले भने।
थापा पक्षले गरेको स्वागतले पार्टी एकीकरणका लागि थप एक कदमको रुपमा लिन सकिने उनले बताए। पार्टी एकता सुरु भएसँगै फुट सुरु हुने पुरानो रोग भने यो पटक नहुने उनको बुझाइ छ। थापा पक्षका नेता राजाराम बर्तौलाले दुवै पार्टी एक हुन सक्ने संकेतको रुपमा आजको निर्णयलाई लिन सकिने बताए।
विरासतको लडाइँ
राप्रपाको स्थापनादेखिकै लडाइँ भनेको विरासत कसको हुने भन्ने देखिन्छ। प्रत्येक पटकको विभाजनमा यही कारण मुख्य हुने गरेको छ। पुराना नेताहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दको नामबाट सुरु भएको विरासतको लडाइँ पछिल्लो समय उनीहरुको सन्ततिमा सरेको छ।
स्थापनाकै समयमै राप्रपा चन्द समूह र थापा समूहमा बाँडिएको थियो। यही विरासतको लडाइँमा थापाले अलग्गै पार्टी बनाएपछि कमल थापा र पशुपति शमशेर राणाका बीच यो लडाइँ सुरु भयो। थापाको मृत्युपछि राप्रपा एक हुने प्रयासमा राणा र थापाकै विरासत बाधक बन्यो। उनीहरु दुई पार्टीमा विभक्त भए।
यो विरासत अहिले धेरैमा विस्तार भएको देख्न सकिन्छ।

राणा र थापापछि विरासतको दाबी गर्दै सूर्यबहादुरका छोरा सुनिल थापा र लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द आउने निश्चित छ। त्यस्तै पद्मसुन्दर लावतीका छोरा सगुन सुन्दर लावती पनि स्थापनाकालको नेताको हैसियतमा पार्टी हिस्सेदारीको दाबी गर्न सक्नेमा पर्छन्। राप्रपा राष्ट्रवादीबाट आएका संस्थापक नेता प्रकाशचन्द्र लोहनीलाई पनि अग्रभागमै जिम्मेवारी दिनुपर्ने हुन सक्छ।
एकताअघि नै लोहनी र राणाको एकता आधारपत्र हेर्दा लोकेन्द्रबहादुर चन्दलाई पनि स्थान दिइएकाले दुवैतिर रहेका प्रभावशाली नेताहरु विक्रम पाण्डे, धवल शमशेर राणा, टंक ढकाल, राजेन्द्र लिङ्गदेन, दिपक बाेहाेरा र बुद्धिमान तमाङ्ग लगायतका नेतालाई पनि उच्च स्थान दिनुपर्ने हुन सक्छ।
महत्वपूर्ण निर्णयहरुमा पूर्व प्रधानमन्त्रीसँगका सल्लाहमा गरिने भन्दै राणा–लोहनीले चन्दलाई स्थान दिएका थिए। चन्दलाई थापासँग एकताका लागि पहल गर्ने जिम्मेवारी पनि दिइएको थियो।
आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्दको साथ लिई उस बेला आफ्नो सरकार ढालेर सूर्यबहादुर थापालाई सघाउँदा आफूले 'मुसा प्रवृत्ति' भनी कटाक्ष गरिएका नेता कमल थापालाई मनाउने जिम्मेवारी उनै चन्दले पाएका थिए।
राप्रपा फुटको २९ वर्षे शृंखला
२०४७ सालमा पञ्चायतको अन्त्य भएपछि पञ्चायती व्यवस्थामा शक्तिमा रहेकाहरुले अलग्गै पार्टी गठन गरे। जसको नाम थियो 'राष्ट्रिय प्रजातन्त्र पार्टी।'
सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द लगायत पञ्चायतकालका अधिकांश शक्तिशाली नेताहरु सो पार्टीमा समाहित भएका थिए।
२९ वर्षको इतिहासमा पूर्वपञ्चहरुको पार्टी पाँच पटक विभाजित भएको छ भने, चार पटक यसअघि जोडिएको छ।
यसरी पार्टी फोड्ने र जोड्नेका खेलाडी थिए, पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतका मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा लगायत। यीमध्ये केही नेता अहिले पनि सक्रिय राजनीतिमा छन्।
सूर्यबहादुर थापा, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा र पद्मसुन्दर लावतीको निधन भइसकेको छ। राणा र थापा तथा अर्का नेता कमल थापा अलग पार्टीको अध्यक्षको रुपमा रहेका छन्। संविधान जारी भएपछिको निर्वाचनअघि उनीहरु तीन भागमा विभाजन भएका हुन्।
पार्टी गठनदेखि नै विभाजन
पञ्चेपार्टीको पृष्ठभूमि छोडेर बहुदलीय र प्रजातन्त्रवादी पार्टी बन्नुपर्ने बाध्यता आएसँगै उनीहरु एक हुने प्रयासमा लागे। प्रजातन्त्र र बहुपार्टी पद्धतिको वकालत नगरे अस्तित्व नहुने ठानेर उनीहरुले पार्टीका लागि प्रजातन्त्रसँगै जोडिएको नाम खोजी गरे। गाउँगाउँमा आफ्नो जनमत कायम रहेको निष्कर्षमा पुगेका उनीहरुले राजाको समर्थन रहने पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नाम समेत जुराए।
२०४७ जेठ १५ मा पहिलो फुट
पञ्चायत समाप्त भएर प्रजातन्त्र आएपछि उनीहरुले राजनीतिमा सक्रिय हुनैपर्ने निश्चित गरे। पार्टीको नाम, विधान र झन्डा तयार गरे। यति गरेपछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवाद सुरु भयो। तत्कालीन समयमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका बीचमा विवाद भयो। नेतृत्वको यही विवादका कारण पार्टी एक भएसँगै दुई पनि भयो।
२०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो। बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए।
चुनावमा दुवै पार्टीले लज्जाजनक हार बेहोर्न बाध्य भए। देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो।
राप्रपा (चन्द) बाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए। दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा) बाट जित्ने एक्लो सांसद बने। थापा आफैं पनि धनकुटाबाट विजयी हुन नसकेपछि उनी लाजले चन्द पक्षसँग निहुरिन बाध्य भए।
यसबाट पाठ सिक्दै उनीहरु एकताको प्रयासमा लागे। केही महिनाको प्रयासपछि उनीहरू पार्टी गठन गर्न सहमत भए। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय भयो।
चुनाव चिह्न हलो राख्दै प्रजातन्त्रिक प्रक्रिया अनुसार प्रत्येक पाँच वर्षमा नेतृत्व परिवर्तन गर्ने कुरामा उनीहरु सहमत भए।
२०४८ माघमा एकीकृत पार्टी बन्यो। त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने। थापा अध्यक्ष भए पनि चन्द र थापा गुट भने कायमै रह्यो।
तेस्रो पार्टी हुँदा सत्ताको स्वाद, दोस्रो विभाजन
२०५१ सालमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गर्दै मध्यावधि चुनाव गराए। यो एकताले राप्रपालाई संसदीय राजनीतिमा केही शक्तिशाली बन्ने अवसर प्रदान गर्यो।
देशभर १९ सिट जित्दै राप्रपा सत्ताको साँचो बोकेको पार्टी बन्यो। चुनावको प्रतिफलअनुरुप राप्रपा तेस्रो शक्तिको रुपमा उदाउनुका साथै नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्पष्ट बहुमत नआउँदा सत्ताको साँचो बन्न पुगेको हो।
मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्यो। यो सरकार ९ महिना मात्रै चल्यो। अधिकारीलाई हटाएर कांग्रेस नेता शेरबहादुर देउवा सत्ताको नेतृत्वमा आए। उक्त खेलको एक खेलाडी राप्रपा थियो। त्यसको नेतृत्व गरेका थिए सूर्यबहादुर थापाले।
थापाको प्रयासपछि देउवा प्रधानमन्त्री बने। देउवा प्रधानमन्त्री हुदाँ थापाले आफूखुसी मन्त्री सिफारिस गरेको भन्दै पार्टीभित्र लोकेन्द्रबहादुर चन्द विरोधी भएर निस्किए।
केही महिनापछि देउवा सरकार ढाल्न एमाले नेताहरु सक्रिय भए। राप्रपाको त्यही असन्तुष्ट चन्द पक्षले एमालेलाई साथ दियो। लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए। २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने।
आफैंले नेतृत्व गरेको सरकार आफ्नै साथीका कारण ढलेपछि थापा चन्दसँग उग्र भए। तत्कालीन समयमा थापाले चन्दलाई 'राजनीतिक नैतिकता नभएको अवसरवादी' भन्दै पार्टीको बैठकमै झपारेका थिए।
चन्द र थापाको विवादले राप्रपाभित्र असन्तुष्टिको खाडल बढ्दै गयो। चन्दको कदमले अध्यक्ष थापा बदलाको भावना लिँदै अघि बढे। उनी आफ्नै साथी चन्द नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगे। पार्टी गठन भएको एक वर्षभित्रै आफ्नै पार्टी नेतृत्वको सरकार गिराउँदै राप्रपाले अर्को सरकार गठन गर्यो।
यो मतभेदले थापा प्रधानमन्त्री बनेपछि पार्टीले विभाजनको रूप लियो।
सत्ताको जोडघटाउमा सुरु भएको राप्रपाभित्रको मनमुटावका कारण सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पार्टी विभाजन भयो।
एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो। २०५३ सालमा राप्रपा चन्द र राप्रपा थापाको रुपमा पार्टी विभाजन भयो।
२०४८ सालमा जस्तै यो फुट उसका लागि फलदायी भएन। २०५६ को आम निर्वाचनमा दुवै राप्रपाको नराम्रो हार भयो। थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन। पहिलो निर्वाचनमा चन्द पक्ष बलियो र थापा पक्ष कमजोर भएको थियो। तर, ६ वर्षपछि त्यो उल्टो भयो।
यो हारपछि पुनः एकीकरणको दबाब सिर्जना भयो। उनीहरु तयारीमा जुटे। पहिलो एकीकरणको ९ वर्षपछि र विभाजनको ३ वर्षपछि २०५७ सालमा पार्टी एकीकण भयो।
पञ्चलाई फापेन ज्ञानेन्द्रको शासन
दोस्रो पटक हारका कारण एक भएको यो पार्टीका नेताहरुले सच्चिने चेत देखाएनन्। एकीकरण भएको दुई वर्षमा उनीहरुभित्र फाटो आयो। यसको एकमात्र कारण पूर्वराजा ज्ञानेन्द्र शाहको आफैं सत्ता चलाउने चाहाना थियो।
जब राजाको हैसियतमा ज्ञानेन्द्रले निर्वाचित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरे, यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भयो।
सूर्यबहादुर थापा राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा थिए। तर, राजाको प्रस्ताव स्वीकार गर्दै लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री बनेपछि विभाजनले अँकुराउने मौका पायो।
दोस्रो विभाजनमा चन्द छोडेर थापा क्याम्पमा आएका कमल थापाले यतिबेला भने सूर्यबहादुरलाई छोडेर राजालाई साथ दिए।
कमल थापाले राजालाई साथ मात्रै दिएनन्, पार्टी पनि विभाजन गरे। २०६२ पुसमा छुट्टै भेला बोलाएर 'राप्रपा नेपाल' गठन गरे अनि आफू अध्यक्ष भएको घोषणा गरे। राजालाई साथ दिन राप्रपाको तेस्रो फुटको नेतृत्व गरेका थापाले राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको जिम्मेवारी पाए।
चौथो फुटपछि राप्रपा तीन चिरामा
यसरी दुई वटा भएको राप्रपामा थापा र उनीसँगै रहेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी तत्कालीन अध्यक्ष पशुपति शमशेर राणासँग अलग भए। राणालाई अध्यक्ष स्वीकार गर्न नसकेपछि उनी आफैं 'राष्ट्रिय जनशक्ति पार्टी' नामको नयाँ पार्टी गठन गर्दै राप्रपा चौथो पटक फुटाए।
यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीका स्वरुपमा रहन गए।
२०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिए।
यो निर्वाचनमा उनीहरु कमजोर बने। अध्यक्ष पशुपति शमशेर आफैं पराजित भए। उनी २५ वर्षपछि पहिलो पटक पराजित भएका थिए।
संविधानसभा निर्वाचनमा हार बेहोरेसँगै पूर्वपञ्चहरूले एकताको तेस्रो प्रयास सुरु गरे। २०७० जेठमा यी दुई पार्टीहरूबीच एकता भयो। राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे। नयाँ पार्टीको नाम राप्रपा नै राखियो। यद्यपि थापा जिवित रहुन्जेल नेतृत्वका लागि विवाद भने चलिरह्यो।
२०७२ बैसाखमा थापाको निधन भयो। त्यसपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले आलोपालो गरी पार्टी हाँक्ने सहमति गरे।
यसबीचमा उनीहरुले कमल थापालाई ल्याउने प्रयास गरे तर उनी राजा सहितको राजनीतिक व्यवस्थाको पक्षमा रहे भने राणाहरु अब गणतन्त्रबाट फर्किन नसक्नेमा पुगे।
दोस्रो संविधानसभापछि कमल थापा पक्ष बलियो
दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा र राप्रपा नेपाल दुई पार्टीले भाग लिए। उनीहरु हलो र गाई चिह्न लिई चुनावी मैदानमा होमिएका थिए।
निर्वाचनको परिणाम राप्रपाले प्रत्यक्षमा ३ सिट जित्यो भने राप्रपा नेपालले प्रत्यक्षमा कुनै पनि सिट जितेन।
तर, कुनै सिट जित्न नसके पनि हिन्दु धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्न सफल भयो। राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त गर्यो।
यसरी विभाजन हुँदा आपसमा कमजोर भएको निष्कर्षसहित पुनः एकीकरण प्रक्रिया सुरु गरे। यी दुई पार्टीबीच २०७४ मंसिर ५ गते एकता भयो। कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने। यो पार्टीको चौथो एकता थियो।
तर, यो एकता पनि लामो समय टिक्न सकेन। सरकारमा सहभागिताको विषयमा कुरा नमिलेपछि पशुपति शमशेर राणाले पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे। यसबीचमा थापा सरकारमा पुगे र उपप्रधानमन्त्री हुँदै परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाले।
संविधान जारी भएपछि संघीयता स्वरुपको निर्वाचनमा उनीहरुका बीचमा एकीकरणको प्रयास सुरु भयो। तर सफल हुन सकेन।
उनीहरु एक्लाएक्लै निर्वाचनमा भाग लिए। त्यस्तै, प्रकाशचन्द्र लोहनीसमेत अलग पार्टी 'राप्रपा राष्ट्रवादी' गठन गरेर अलग्गिए। नेता लोकेन्द्रबहादुर चन्द भने राप्रपामै रहे पनि सक्रिय राजनीतिबाट छायाँमा रहे। राणा र लोहनी पुन: एक भए। त्यसमा चन्दले थापालाई पुन पार्टीका ल्याउने जिम्मेवारी पाए।
अब हुन लागेको एकता सफल भएमा यो राप्रपाको इतिहासमा यो पाँचौं एकता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।