काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले पार्टीको १४औं महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेस भएका १४ वटा एजेन्डामध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपूर्ण एजेन्डाको रूपमा छलफल हुँदै आएको छ।
केही सदस्यहरूले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् भने केहीले महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन्। साथै केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दै विधान विपरीत कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरी क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन्।
प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफ केन्द्रीत भएपनि निष्कर्षमा भने पुगिनसकिएको बताए।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए। संक्रमणकालीन व्यवस्थाको नाममा भर्खरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरीत कुनै पनि सहमति सम्झौता गर्न नसकिने उनको भनाइ थियो।
असार २२ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिँदै चल्दै आएको छ। बैठकमा पेस भएका १४ वटा एजेन्डामध्ये नियमावलीको एजेन्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमतिपूर्वक टुंग्याउने गरी नियमावली मस्यौदा समितिलाई नै फिर्ता पठाइसकेको छ। प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेन्डामा संयुक्त छलफल गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।