काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको अस्थायी राजधानीको विषयमा आन्दोलनमा उत्रनु वान्छनीय नहुने बताएका छन्।
थाइलान्डको बैंककबाट उपचार गरेर फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, 'राजधानी तोक्ने अधिकार प्रदेशसभामा भएकाले अब आन्दोलन गर्न जरुरी छैन। आवश्यकता र सन्तुलनका आधारमा प्रदेशसभाले निर्णय गर्छ।'
काम चलाउ सरकारलाई अस्थायी राजधानी तोक्न र प्रदेशप्रमुख नियुक्त गर्न सहमति दिएको तर कहाँ तोक्ने भन्ने विषयमा कसैसँग सहमति नगरी सरकारले एकलौटी निर्णय गरेको ओलीले आरोप लगाए।
सरकारले अस्थायी राजधानी तोक्न पाउने अधिकार अन्तर्गत उक्त निर्णय लिएको ओलीको भनाइ थियो। उनले अर्को सरकारले यसलाई मान्यता नदिन सक्ने कुरामा ख्यान गर्न आन्दोलनकर्तालाई आग्रह गरे।
सम्बन्धित प्रदेशसभाले यसमा उचित निर्णय गर्ने भएकाले आन्दोलनमा उत्रेर अनावश्यक ऊर्जा खर्च गर्नु गलत भएको ओलीले टिप्पणी गरे।
अर्को प्रसंगमा एमाले अध्यक्ष ओलीले पार्टी एकताका विषयमा कुनै आशंका गर्न अनुरोध गरे। ‘पार्टी एकताका विषयमा कसैले आशंका नगर्दा हुन्छ,’ ओलीले भने, ‘कसैलाई अझै पनि पार्टी एकता तोड्न सकिन्छ भन्ने लागेको छ भने त्यो आश पनि नगर्दा हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।