प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय नेता स्वामी/ तस्बिर : महेश जोशी
काठमाडौं- भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का नेता डा.सुब्रमन्यम स्वामी नेपाल आएका छन्।
विश्व हिन्दू महासंघ र विश्व हिन्दू परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शनिबार नेपाल आएका हुन्।
केही दिनअघि मात्र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आएर फर्किएका थिए।
भाजापका हिन्दूवादी नेता स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्।भारतीय संसदको माथिल्लो सदन राज्यसभाका नियुक्त सदस्य उनी चन्द्र शेखर सरकारको पालामा मन्त्री भएका थिए। उनी अर्थशास्त्रका राम्रा जानकार मानिन्छन्।
दुई दिने सम्मेलनका लागि नेपाल आएका उनले सम्मेलनलाई सम्बोधन लगत्तै शनिबारै प्रधामन्त्री ओलीसँग करिब ४० मिनेट कुराकानी गरेका थिए।
प्रधानमन्त्री ओलीसँग नेपाल-भारत सम्बन्धका द्विपक्षीय विषयमा कुराकानी भएको उनले समाजिक संजाल ट्वीटरमा लेखेका छन्।
‘विश्व हिन्दू जागरण सम्मेलनलाई सम्बोधनपछि म ब्रामिन बंशको खोजी गरेका प्रधानमन्त्री ओलीलाई भेट्न गएँ,’ उनले लेखेका छन्, ‘उहाँ(प्रधानमन्त्री)को सोच केन्द्रित र स्पष्ट छ। मैले नेपाल-भारत सम्बन्धबारे ४० मिनेट छलफल गरेँ।’

हिन्दूराष्ट्रको पक्षमा वकालत
हिन्दू सम्मेलनलाई सम्बोधन गर्न आएका स्वामीलाई नेपालस्थित भारतीय दूतावासका अधिकारी विश्व हिन्दू महासंघका कार्यबहाक अध्यक्षले विमानस्थलमा स्वागत गरेका थिए। सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने माग गरेका छन्।

नेपालको भौगलिक अवस्था र इतिहासले गर्दा नेपाल हिन्दू राष्ट्र हुनुपर्ने उनको जिकिर थियो। भारत र चीनसमेत यसमा सकारात्मक रहेको उनको दाबी थियो।
विभिन्न राजनीतिक भेटघाट गरेका उनले शनिबार पशुपतिनाथको दर्शन समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।