डडेलधुरा- नेपाली कांग्रेस डडेलधुरामा चरम गुटबन्दीको विवाद सहतमा आएको छ। गुटबन्दीको विवाद पछिल्लो समय कुटपिटमै परिणत भएको छ।
महिला संघको वर्तमान कार्यसमिति खारेज गरी नयाँ तदर्थ समिति गठन गर्न केन्द्रले पत्र पठाएपछि विवाद सतहमा आएको हो। तदर्थ समितिले गत मंगलबार कांग्रेस पार्टी कार्यालयमा बैठक बस्न खोज्दा विवाद हुँदा अवस्था कुटपिटमा परिणत भएको थियो। कुटपिटको घटना भएको पनि आइतबार ६ दिन पुगिसकेको छ। यद्यपि हालसम्म विवाद कायमै छ।
गत असार महिनाको तेस्रो साता नेपाल महिला संघको केन्द्रीय समितिले एकाएक जिल्ला कार्यसमितिलाई विघटन गरी तत्कालीन उपाध्यक्ष कलावती बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको एकपक्षीय रुपमा पत्राचार गरिएपछि महिला संघमा विवाद उत्पन्न भएको थियो।
विवाद कुटपिटमा परिणत
सो विवादकै बीच मंगलबार तत्कालीन उपाध्यक्ष बोहराको संयोजकत्वमा पार्टी कार्यालय डडेलधुरामा मासिक बैठक बस्न संघका सदस्यहरु पार्टी कार्यालय पुगे।
तर, सो समयमा कार्यालय सचिव रामबहादुर विष्टले कार्यालयको चाबी नदिएपछि ताला तोडेर बैठक सुरु गरियो। सोपश्चात् कार्यालय सचिव विष्टले उपस्थित महिलामाथि आक्रमण गरेका थिए।
घाइते भएकी नेतृ विष्ट।
स्रोतका अनुसार बैठक हलमा रहेका १० महिलामाथि विष्टले कुर्ची प्रहार गरेका थिए। नेपाल महिला संघ डडेलधुराकी उप–संयोजक वसन्ती भण्डारी कुटपिटबाट गम्भीर घाइते बनेकी संघकी नेतृ सरस्वती खड्काले बताइन्।
उनले नेपाली कांग्रेस डडेलधुराका उप–सभापति करुणाकर भट्टले समेत गाली, बेइज्जती र धम्की दिएको आरोप लगाइन्।
विष्ट कांग्रेस डडेलधुरा सभापति तथा प्रदेश सासंद कर्णबहादुर मल्लका स्वकीय सचिवसमेत हुन्। महिला संघ डडेलधुराको संयोजक अहिले कमला विष्ट रहेको सभापति मल्ल पक्षको दाबी छ।
घटनापछि आफूहरूलाई कमला विष्टबाहेक अन्य व्यक्तिलाई महिला संघ डडेलधुराको संयोजक तोकेको आधिकारीक पत्र प्राप्त नभएको कांग्रेस डडेलधुराका सभापति मल्लले बताए। मल्लले विज्ञप्ति जारी गरेपछि डडेलधुरा कांग्रेसमा पूर्व सभापति भट्ट र वर्तमान सभापति मल्लबीच गुटमा अझै दरार बढ्दै गएको देखिन्छ।
४ वर्षदेखि विवादमा रहेको उक्त संघ विधिविधानअनुसार गठन हुनुपर्ने कांग्रेस नेताकार्यकर्ताको माग थियो। संघलाई वैधानिकता दिन केही दिनअघि केन्द्रीय टोली डडेलधुरा पुगेर छानबिनसमेत गरेको थियो। छानबिनपश्चात् परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहरालाई संयोजक तोकेको पत्र आएको एक पक्षको दाबी छ। पत्र उप–सभापति करुणाकर भट्टलाई नै दिइएको उनीहरूको भनाइ छ।
विवादका विषयमा संघकी नेतृ खड्काले काग्रेस डडेलधुराका उपसभापति भट्टले समेत गाली बेइज्जती र धम्की दिँदै 'महिलाहरुलाई अलि बढी कुट्नु पर्ने, कम किन कुट्नु भयो’ भनेर भनेको आरफव लगाइन्। आफूहरुलाई पार्टी कार्यालय बाहिर पनि बस्न नदिइएको महिलाहरुको गुनासो छ।
यस बारेमा बुझ्दा कार्यालय सचिव विष्टले आफूमाथि आक्रमणको प्रयास भएपछि ज्यान जोगाउन महिलाहरुको समूहलाई तितरवितर पारेको दाबी गरे। उनले घटनापछि ज्यान जोगाउन त्यहाँबाट भागेर लुकेर बसेको र प्रहरी घटनास्थलमा आएपछि मात्रै पुनः सो स्थानमा गएको बताए।
कसरी भयो त घटना? कार्यालय सचिव विष्ट भन्छन्-
एक महिला नेतृले मलाई फोन गर्नुभएको थियो। मलाई पार्टी कार्यालयको चाबी दिनुस् भन्नुभयो। मैले भने पार्टीको विषयमा छलफल गर्नुछ भने गर्नुस्, व्यक्तिगत विषयमा छलफल गर्नुछ भने पनि म चाबी दिन्छु। यदि तपाईंहरुले महिला संघको विषयमा छलफल गर्ने हो भने समिति विघटनका विषयमा पार्टी कार्यालयमा कुनै आधिकारिक पत्र (लिखित तथा मैखिकसमेत) प्राप्त भएको छैन। जिल्ला कार्य समितिलाई पनि कुनै जानकारी आएको छैन। त्यस विषयमा यहाँहरुले समाजिक सञ्जालमा गलत प्रचार फैलाउँदैमा बैठक बस्न पाउनुहुन्न भनें।
जबसम्म अधिकारी केन्द्रबाट पार्टी कार्यालयलाई पत्र आउँदैन, तबसम्म नेपाल महिला संघ डडेलधुराकी अध्यक्ष कमला विष्ट नै हो। तपाईंहरु जुन नेपाल महिला संघको संयोजक म हो भन्दै चाबी देऊ, छलफल गर्छु भन्नु हुन्छ, कसरी तपाईं अधिकारी व्यक्ति हुनसक्नुहुन्छ भन्दै प्रश्न गरें। त्यसपछि उहाँहरुले पार्टी कार्यालयको ताला तोडेर भित्र विद्रोही शैलीमा प्रवेश गर्नुभयो। प्रवेश गरेपछि बैठक कक्षमा गएर मैले म्याडम किन ताला तोड्नुभयो? तपाईंहरुले ताला तोडेर सरासर गलत गर्नुभयो। कार्यालयमा केही कागजात हरायो भने को जिम्मेवारी हुन्छ? के भनेको थिएँ मलाई ३ जना आक्रमण गर्न आए।
घटनापछि पार्टी कार्यालयअघि नाराबाजीमा उत्रिएका महिला नेताकार्यकर्ता तथा परिचालित प्रहरी।
२०/२५ जनाको महिलाको समूहलाई मैले कुटपिट गरेको नभएर मलाई आक्रमणको प्रयास भएपछि ज्यान जोगाउन तितर-वितर पारेको हुँ।
कांग्रेस डडेलधुराका कार्यबाहक सभापति करुणाकर भट्टले महिला संघका नेतृहरुले अपशब्द प्रयोग गरेको आरोप लगाएका छन्। भट्टले यसको खण्डन गर्दै लोकतान्त्रिक पार्टीमा यस्ता विवाद आउनु समान्य भएको प्रतिक्रिया दिएका छन्। उनले महिला नेतृहरुमाथि आफूले गालीगलौज नगरेको पनि दाबी गरे।
विवादमा देउवाकै मलजल!
डडेलधुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। केन्द्रमा गुटको पक्षपोषण गरेको आरोप लागिरहँदा आफ्नै गृह जिल्लामा उब्जिएको विवाद मिलाउन समेत देउवाको ध्यान नगएको आरोप लगाइएको छ। महिला संघको हालको समिति विघटन गरी तदर्थ समिति गठन गर्न स्ययम् देउवा पत्नी आरजु राणा देउवाको समेत हात रहेको कुरा बाहिर आएपछि देउवाको थप आलोचना हुन थालेको हो।
केन्द्रको निर्देशनानुसार परशुराम नगरपालिकाकी उपप्रमुख रहेकी तदर्थ समिति संयोजक कलावती बोहराले जिल्ला तदर्थ समितिलाई पूर्णता दिएकी छन् भने संघकी तत्कालीन अध्यक्ष कमला विष्ट समर्थक महिला संघका पदाधिकारीहरुले भने पुरानै समिति कायम रहेको जिकिर गरिरहेका छन्।
महिला संघमा उत्पन्न विवादकै बीच मंगलबार नेपाली कांग्रेस डडेलधुराको पार्टी कार्यालयमा तनाव उत्पन्न भएको हो।
यस विषयमा पूर्वसभापति रघुवर भट्टले भने आफूले अहिले नै प्रतिक्रया दिनु आवश्यक नरहेको भन्दै पन्छिन खोजे। हालका सभापति मल्ल पक्षले कमला विष्टनै संघकी अध्यक्ष रहेको अडानमा छ। पूर्वसभापति भट्ट र देउवा पत्नी आरजु राणा देउवा भने बोहरा नै अधिकारिक भएको भन्दै लबिङ गरिरहेका छन्।
प्रहरीमा दुवै पक्षद्वारा सार्वजनिक मुद्दा दर्ता
यसैबीच महिला संघका नेतृहरुले कार्यालय सचिव विष्टका विरुद्ध जिल्ला प्रहरी कार्यालय, डडेलधुरामा सार्वजनिक मुद्धा दर्ता गराएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय पुगेर उनीहरुले विष्टमाथि कुटपिट गरेको भन्दै सार्वजनिक मुद्धा दर्ता गराएका छन्।
यस्तै, कार्यालय सचिव बिष्टले पनि महिलाहरुले आफूलाई आक्रमण गरेको भन्दै तीन जना महिला नेतृमाथि सार्वजनिक मुद्दा दर्ता गराएका छन्। बुधबार नै उनले जिल्ला प्रहरी कार्यालय पुगेरै सार्वजनिक मुद्दा दर्ता गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।