काठमाडौं- सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटको निर्णायक खेलमा आयोजक सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ।
इन्डियन एसोसियसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल खडा गरेको हो।
घरेलु मैदानमा सिंगापुरका टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले बलियो लक्ष्य पाएको हो। उनले ४३ बलको सामना गर्दै ७७ रन जोडे। उनको परीमा ८ चौका र ३ छक्का सामेल थिए। यसअघि १० रनको अवस्थामा पहिलो विकेट गुमाएको सिंगापुरले सुदृढ साझेदारी गरेको थियो।
प्रारम्भिक ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहन (८ रन)को रुपमा सिंगापुरले पहिलो विकेट गुमाएको थियो। सोपश्चात् अर्का प्रारम्भिक ब्याट्सम्यान रोहन रंगराजनसँग मिलेर डेभिडले तेस्रो विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गरे। रंगराजनले ३ चौका र ४ छक्काको मद्दतमा ४९ रनको पारी खेले।
११औं ओभरमै १ सय रनको स्कोर पार गरेर बलियो अवस्थामा पुगेको सिंगापुरले आफ्नो सुदृढ ब्याटिङलाई कायमै राख्यो।
डेभिडले अविनाश बोहराको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट हुनुअघि विकेटकिपर ब्याट्सम्यान मनप्रित सिंहसँग ६६ रनको साझेदारी गरे। २७ बलमा ४२ रन जोडेका सिंहले ३ चौका र २ छक्का हिर्काए।
सिंगापुरका ब्याट्सम्यानअघि अविनाश बोहराबाहेक अन्य सबै नेपाली बलरहरु निरीह सावित बनेका थिए। ४ ओभर बलिङ गरेका अविनाशले ३५ रन दिएर ४ विकेट हात पारे। करण केसीले २ विकेट लिए। नेपालका वसन्त रेग्मी सर्वाधिक महँगा सावित भए। उनले ४ ओभरमा ५४ रन खर्चिएका थिए।
प्रतियोगितामा दुवै टोलीले समान ३ खेल खेलिसकेका छन्। अहिलेसम्म सिंगापुरले ५ अंक तथा नेपालले ४ अंक जोडेको छ। दुवै टोलीका लागि महत्वपूर्ण मानिए पनि नेपाललाई अघिल्लो चरणमा जान आजको खेलमा जित अनिवार्य छ।
कतारसँगको खेल गुमाएको नेपालले त्यसपछि कुवेत र मलेसियामाथि भने सहज जित हात पारेको थियो। कुवेतसँगको खेल वर्षाका कारण अवरुद्ध भएपछि नम्बर बाँडेको सिंगापुरले बाँकी टोलीहरु मलेसिया र कतारलाई भने पन्छाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।