काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको बताएका छन्।
शनिबार राजधानीमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा सबैभन्दा ठूलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन्। लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको दाबी उनले गरे। 'नेपालमा भनसुन उद्योग सुरु भईसक्यो । सबै भन्दा ठुलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ उसको चल्छ । लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? उसको भनसुन गर्ने मान्छे थिएन फेल गर्दिए,' उनले भने।
निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको, दण्डहीनता र हिंसाका घटनाहरु बढ्दै गएको, भ्रष्टाचारलगायत शुसासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए।
कार्यक्रममा सक्षम नेता भएर पनि गुरु घिमिरेलाई पार्टी नेतृत्वले संरक्षण गर्न नसकेको विषयमा शीर्ष नेताहरुबीच बहस नै चल्यो। महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिएपछि सभापति देउवाले अबदेखि अन्याय हुन नदिने प्रतिबद्धता गरे। वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा भोग्नु परेको असफलताले साहित्यमा सफलता प्रदान गरेको भन्दै सबै घटनालाई सकारात्मक लिन आग्रह गरेका थिए।
सभापति देउवाले त नेता घिमिरेलाई अन्याय नभएको स्वीकारै गरेका थिए।
'वास्तवमा अन्याय भएको छ। एउटा सिट हुन्छ। ५० जना चाहन्छन्। कसरी हुन्छ? राजनीतिबाट टाढा नरहनु। अब अन्याय नगर्ने किसिमले जाउँला। राजनीति र साहित्यलाई संगसंगै लैजानुहोस्,' उनले भने।
लेखक एवं नेता घिमिरेले आफू पूर्णकालीन राजनीति व्यक्तित्व भएकाले ९० प्रतिशत राजनीति र १० प्रतिशत समय मात्रै साहित्यलाई दिने गरेको बताएका थिए।
शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको घिमिरेका ‘मान्छेका कथाहरु’ कथा संग्रहमा १४ वटा कथा संग्रहित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।