काठमाडौं– नेपाली सिने नगरीमा साना पर्दाबाट स्थापित अनुहारहरु ठूला पर्दाका फिल्म निर्माण र निर्देशनमा फड्को मारेका प्रशस्तै उदाहरण छन्। यसकै उदाहरण हुन् किशोर भण्डारी।
यही नामले चिन्ने निकै कम होलान् तर किशोर उनै हुन्- जसले कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम 'हर्के हवल्दार'मा फूलमान साहुका रुपमा चर्चा कमाए अनि आफ्नै लेखन तथा निर्देशनमा तयार टेलिशृंखला 'डिट्ठा साब'बाट दर्शकको मनमनमा छाए।
टेलिभिजनको पर्दामा आफूलाई उभ्याएर कला र गला बेच्दै आएका हास्यकलाकार किशोर दर्शकहरुले निकै रुचाएको नाम हो।
फूलमान साहुको फेमबाट डिट्ठा साबको ट्याग भिर्न सफल उनी पछिल्लो समय ‘डिट्ठा साब’को लेखन, निर्देशन र अभिनयमै व्यस्त छन्। तीन दशक लामो अभिनय यात्रालाई निरन्तरता दिँदै गर्दा जीवनमा धेरै किसिमको उतारचढाव सामना गर्नुपरेको उनी सुनाउँछन्।
टेलिभिजनसँगको सामीप्यता, उत्प्रेरणा र त्यसबाट पाएको मायालाई जीवन्त राख्दै ठूला पर्दाका फिल्म बनाउने सपनामा धेरै अघिबाट रुमल्लिइरहेका थिए उनी।
अभिनय सँगसँगै भारतको मुम्बईमा फिल्म मेकिङको अध्ययन गरेर नेपाल फर्कीएका किशोर जति साना पर्दाका टेलिफिल्ममा व्यस्त रहे त्यति नै ठूला पर्दाका फिल्म बनाउने ध्याउन्नमा लागिरहन्थे। उनी अहिले 'चंगा' बनाउने निर्णयमा पुगेका छन्, जुन फिल्म माघ ८ गतेदेखि छायांकनका लागि फ्लोरमा जाँदैछ। उनले फिल्म रिलिजको मिति पनि घोषणा गरिसकेका छन्– २०७५ जेठ ११।
टेलिशृंखलाबाट फिल्मतिरको फड्को किन?
उनी हाँस्दै भन्छन्, 'मेरो कर्म फिल्म बनाउने हो। अध्ययन पनि फिल्म मेकिङ नै हो। शरीरका प्रत्येक नशामा फिल्मकै रबाफ चलिरहन्छ। केही समय ढिला भयो होला कर्म र धर्म निर्वाह गर्नकै लागि फिल्म बनाउन लागेको हुँ। कसैको सिको गरेर म फिल्म मेकिङमा आएको होइन।’
फिल्म सफल नै हुन्छ भन्ने आधार छन् त केही?
उनी एकछिन रोकिए। र, भने, 'फिल्म नबनाई कसरी भन्न सकिएला र। पहिला फिल्म बनाएर देखाउने र त्यसपछि मात्र सफलता र असफलतामाथि छलफल गर्ने हो।'
टेलीभिजनको पर्दामा चाहँदाचाहँदै पनि दिन नसकेका दृश्य र कथाहरुमा दर्शकले मज्जाले पचाउन सक्ने सेन्स अफ ह्युमरको प्रयोग गर्न तयार छन् उनी। आफ्नो सिप र कलालाई देखाएर दर्शकको मन जित्ने अठोटका साथ आउने बताउँदै उनी डिट्ठा साब, टेलिभिजनको सीमित घेरोलाई फराकिलो बनाउनकै लागि फिल्ममा प्रवेश गरेको बताउँछन्।
नेपालमा थिएटरबाट उत्पादन भएका धेरै कलाकार अहिले फिल्मा हाबी भइरहेका छन्। कला कला नै हो, फिल्म होस् वा नाटक। किशोर पनि यसमा सहमत छन्, भन्छन्, 'अभिनयमा कुनै भेद छैन। दुवै ठाउँमा अनुहार देखाएर कला बेचेर खाने ठाउँ हो यो।’
फिल्म चंगाको स्क्रिप्ट लेख्न मात्र उनले २ वर्ष समय खर्चेका रहेछन्। आफ्ना मनले खाएका अग्रजदेखि फिल्म मेकिङ गर्दै आएका विभिन्न व्यक्तिसँगको सुझाव र सल्लाह लिएरै कथालाई मजबुत बनाएको उनको दाबी छ।
साना पर्दाबाट ठूलो पर्दामा हाम फाल्न पैसा र साहसले मात्र नभई अन्य धेरै कुराको आवश्यकता पर्ने उनको बुझाइ छ। 'मभित्र जन्मँदै आएको गुण फिल्म मेकिङ नै हो भन्ने लाग्छ। त्यसैले फिल्ममार्फत दर्शकलाई खुसी दिलाउनु मेरो कर्तव्य हो,' उनी भन्छन्, 'म त सानो पर्दाबाट आएको। ठूला पर्दामा पनि आफूलाई स्थापित गर्नुपर्ने चुनौती छ। तर यसका लागि दर्शकको माया र मेरो रुचि-क्षमताले साथ दिनेछ भन्नेमा ढुक्क छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।