काठमाडौं- आइसिसी टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा कुवेतलाई नेपालले ७ विकेटले पराजित गरेको छ।
१४२ रनको लक्ष्य दिएको कुवेतलाई नेपालले ३ विकेटको क्षतिमा १५.५ ओभरमा आफ्नो लक्ष्य पूरा गरेको हो।
४२ बलमा कप्तान पारस खड्काले ६८ रनको योगदान दिएका थिए। उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। १३ बलमा २ चौका, १ छक्कासहित ज्ञानेन्द्र मल्ल आउट भएका थिए। शरद भेषावकरले ३० बलमा नटआउट ३८ रन जोडे।
यसअघि, निर्धारित २० ओभरको खेलमा कुवेतले ९ विकेट गुमाएर १४१ रन बनाएको थियो।
सिंगापुरको इण्डियन एसोसिएसन ग्राउण्डमा जारी खेलमा टस हारेर कुवेतले व्याटिङ पाएको थियो।
मोहम्मद कासिफले ४९, आन्दन इन्द्रासले २५, मोहम्मद इस्लामले २३ ,राजिभा सान्दारवानले १५ र विलाल ताहिरले १३ रन जोडका थिए। स्पिनर सन्दीप लामिछाने र वसन्त रेग्मीले ३/३ विकेट लिएका थिए। करण केसीले २ विकेट लिए भने अभिनास वोहराले कुवेतको १ विकेट हात पारेका थिए।
नेपालले अब सिंगापुरसँग खेल्नेछ। नेपालले भोलिको खेल जितेमा युएईमा हुने विश्वकप ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ। नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुरको ५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।