काठमाडौं- १ सय २५ दिनभित्र काम सम्पन्न गरिसक्ने भन्दै शैलुङ कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडकखण्ड १ हजार ८ सय ६३ दिन बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।
साढे ४ महिनामा काम सक्नेगरी लिएको ठेक्का करिब ६ वर्ष हुन लाग्दासमेत पूर्ण नभएपछि संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले चासो देखाएको छ।
ठेक्का सम्झौताअनुरुप उक्त आयोजना कार्यान्वयनको अवस्था बुझेर निर्माण कम्पनीलाई कारबाही गर्न भन्दै चाँगुनारायण नगरपालिकाले विकास समितिमा गत जेठ २ गते निवेदन हालेको थियो।
.jpg)
चाँगुनारायण नगरपालिकाले उक्त सडक निर्माण कार्य सम्पन्न गर्नका लागि निर्देशन दिन भन्दै विकास तथा प्रविधि समितिमा निवेदन हालेको हो। सोही निवेदनका आधारका समितिले प्रारम्भिक चरणको अध्ययनका लागि स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ।
‘भक्तपुर–नगरकोट सडक खण्डको दुरवस्थाका कारण लामो समयदेखि उक्त स्थानमा सर्वसाधारण र पर्यटकलाई प्रत्यक्ष असर परेको छ। भन्ने जनगुनासो रहेकाले उक्त सडक खण्डको अवस्थाको बारेमा स्थलगत अध्ययन अवलोकनका लागि जाने’ समितिको बिहिबारको बैठक निर्णयमा भनिएको छ।

चाँगुनारायण नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडकका रुपमा रहेको कमल विनायकदेखि नगरकोटसम्मको सडक चौडा–फराकिलो बनाई सुधार गर्न भन्दै शैलुङ कन्स्ट्रक्सन प्रालिसँग २०७१ असार ४ गते सम्झौता भएको थियो।२७ करोड ९० लाख रुपैयाँमा १ सय २५ दिनभित्र सम्पन्न गरिसक्ने गरी आयोजनाको निर्माणका लागि पहिलो पटक सम्झौता भएको थियो।
उक्त समयभित्र काम सम्पन्न नगरेपछि सडक विभागले पटक पटक गरी तीन पटकसम्म म्याद थप्दै २०१८ जुन १३ भित्र सम्पन्न गर्ने अन्तिम मिति जारी गरेको थियो। तर निर्माण कम्पनीले भने सो समय गुजारेको पनि १ वर्षभन्दा बढी समय भईसकेको छ।
उक्त सडक निर्माणका लागि सैलुङ कन्स्ट्रक्सनलाई ३ पटकसम्म म्याद थप गर्दा पनि काम नगरेपछि सडक विभागले कुल आयोजना लागतको १० प्रतिशत जरिवानसमेत तिराइसकेको छ।
शैलुङ कन्स्ट्रक्सन प्रालि नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी समेत रहेका व्यवसायी शारदाप्रसाद अधिकारीको हो।
सम्बन्धित समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।