काठमाडौं- विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काको अकुत सम्पत्ति लुकाएको आरोपमा भ्रष्टाचार मुद्दा लागेकी अमिता लामा सोदेम्बालाई साधारण तारेखमा छोडेको छ।
विशेष अदालतमा बिहीबार उपस्थित भएकी सोदेम्बालाई न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले उनलाई साधारण तारेखमा छोड्ने आदेश गरेको हो।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्कासहित तीन जना विरुद्ध २०७५ पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति खड्काले श्रीमती र सोदेम्बाका नाममा राखेको दाबी गर्दै उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
खड्काले १८ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
खड्काले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति अन्य व्यक्तिका नाममा ७ करोड बराबरको सम्पत्ति लुकाई राखेकोले जफतको माग गरिएको छ।
खड्काले २०६९ साल चैतदेखि अहिलेसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, ऋण सापटीबाट ५ करोड ३३ लाख ३६ हजार, घर भाडाबाट १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा पाएको आर्थिक सुविधा पापत २९ लाख २२ हजार, पेन्सनबाट १४ लाख ७८ हजार, विप्रेषण आयबाट ८ लाख २६ हजार, गाडी बिक्रीबाट ३५ लाख, छोरा बुहारीको पारिश्रमिकबाट ११ लाख गरी जम्मा ७ करोड ४४ लाख ५६ हजार रुपैयाँका साथै सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ चैतसम्ममा देखिएको विभिन्न शीर्षकको आय १ करोड २० लाख रुपैयाँसहित ८ करोड ६४ लाख ६९ हजार आर्जन गरेको देखिएको अख्तियारको दाबी थियो।
खड्काले विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटहरूमा १ करोड ८० लाख १६ हजार रुपैयाँ खर्च गरेको पाइएको थियो।
यसमध्ये उनको स्रोत खुलेको आय ८ करोड ६४ लाख ६९ हजार रुपैयाँ मात्र छ। १८ करोड ६६ लाख रुपैयाँको स्रोत खुलेको छैन। यसलाई अख्तियारले गैरकानूनी रूपमा आर्जन गरेको दावी गरेको छ।
खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्तिमध्ये अमिता लामा सोदेम्बा र आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाएको अख्तियारको आरोप छ।
खड्का विशेष अदालत आउनुअघि उनको सम्पत्ति लुकाएको आरोप लागेकी सोदेम्बा विशेषमा हाजिर भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।