काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
कांग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हकदाबी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गरे।
बिहीबार संघीय संसद्को महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले आफ्नो खुट्टामा आफैं उभिने बनाउन पनि ज्येष्ठ नागरिकको सम्पत्ति माथि सन्तानले हकदाबी गर्न पाउने कानुनी व्यवस्था खारेज गर्न उपयुक्त हुने तर्क गरे।
सांसद कँडेलले युरोपतिर पनि ज्येष्ठ नागरिकको सम्पत्तिमाथि उसको सन्तानले हकदाबी गर्ने कानुनी व्यवस्था नरहेको पनि स्मरण गराए।
नेपाली कांग्रेसकै अर्का सांसद दिव्यमणि राजभण्डारीले पैतृक सम्पत्तिमा भने आफ्ना सन्तानले हकदाबी गर्न पाउनुपर्ने धारणा राखे। उनले ज्येष्ठ नागरिकले आफूले आर्जन गरेको सम्पत्ति भने आफूलाई चाहेको व्यक्ति वा संस्थालाई दिन उपयुक्त हुने पनि तर्क गरे।
सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले असामान्य अवस्थामा रहेका ज्येष्ठ नागरिकको पालनपोषण गर्नेलाई सम्बन्धित स्थानीय तहको सहमतिमा उनको सम्पत्ति दिन सकिने कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखिन्। सांसद पाण्डेले स्थानीय तहले असामान्य अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई पालनपोषण गर्नेलाई उनीहरुको सम्पत्तिको हकदाबी गर्ने अधिकार दिनुपर्नेमा उनको जोड थियो।
विधेयकमा ज्येष्ठ नागरिकलाई कम्तिमा ३ वर्ष पालनपोषण गर्नेले उनको सम्पत्तिमाथि हकदाबी गर्न पाउनेपर्ने प्रस्ताव गरिएको छ। त्यसमा सांसद पाण्डेले पनि असहमति जनाइन्। उनले आफ्नो सम्पत्ति कसलाई दिने भन्ने विषयमा ज्येष्ठ नागरिककै स्व-विवेकीय अधिकार हुनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने पनि बताइन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।